साउदी प्रो लिगमा अल नासरले जित हासिल गरेको छ ।गएराती भएको खेलमा अल नासरले दमकलाई २–१ ले पराजित गरेको हो ।
दमकको घरेलु मैदानमा अल नासरको जित दिलाउन क्रिष्टियानो रोनाल्डो र अब्दुलरहमान घारिबले समान एक गोल गरेका थिए । यसैगरी घरेलु टोली दमकका लागि जमल हार्कासले एक गोल गरेका थिए ।
खेल शुरु भएको पाँचौं मिनेटमा अब्दुलरहमान गोल गर्दै अल नासरलाई अग्रता दिलाएका थिए । ५०औं मिनेटमा रोनाल्डोले अग्रता दोब्बर पारे । त्यसैगरी दमकका हार्कासले ६८औं मिनेटमा गोल गरे । त्यसपछि थप गोल हुन नसक्दा अल नासर विजयी भयो ।
लिगमा १६ खेलबाट ३७ अंक जोडेको अल नासर अंक तालिकाको दोस्रो स्थानमा छ । एक खेल कम खेलेको अल हिलाल ४१ अंकसहित तालिकाको शीर्ष स्थानमा छ । दमक भने ११ अंकसहित १५औं स्थानमा छ ।
