नक्सलबारी । मोरङको नक्सलबारीमा जारी छैठौं माघे संक्रान्ती खुल्ला नकआउट फुटबल प्रतियोगितामा बेलबारी फुटबल क्लब, मोरङ सेमिफाइनलमा प्रवेश गरेको छ ।
आइतबार भएको तेस्रो क्वार्टरफाइनल खेलमा बेलबारीले घंगरू फुटबल क्लब, मोरङलाई टाइब्रेकरमा ४-१ ले पराजित गर्दै सेमिफाइनलमा स्थान पक्का गरेको हो ।
खेल निर्धारित समयमा दुबै टोलीले एक-एक गोलको बराबरी खेलेपछि खेलको निर्णय टाइब्रेकरबाट गरिएको हो । निर्धारित समयमा नबिन राईले गोल गर्दै घंगरूलाई अग्रता दिलाएका थिए ।
तर, बेलबारीका योहना लिम्बुले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । टाइब्रेकरमा बेलबारीका गोलरक्षक अजय परियार नायक बने । उनले घंगरूको दुई पेनाल्टी बचाए ।
खेलको म्यान अफ दि म्याच पनि अजय नै घोषित भए । उनले नगद रु १,५८२ सहित मेडल प्राप्त गरे । प्रतियोगिता अन्तर्गत सोमबार इन्ट्रा पथरी एघार, मोरङ र लेटाङ फुटबल क्लब, मोरङबीच चौथो तथा अन्तिम क्वार्टरफाइनल खेल हुनेछ ।
जनज्योति क्लब, नक्सलबारी, मोरङको आयोजनामा जारी प्रतियोगितामा मोरङ र सुनसरी गरी ८ वटा टिम सहभागिता छ । प्रतियोगिताको संयोजकको रुपमा नेपाल मगर संघ र नक्सलबारी फुटबल क्लब रहेका छन् भने सहयोगी संस्था बेलबारी नगरपालिका रहेको छ । प्रतियोगिताको विजेताले ५१ हजार र उपविजेताले ३१ हजार पाउने छ ।
