पथरी । मोरङको पथरीमा शनिबारबाट सुरु भएको दोस्रो पथरी सनिश्चरे भेट्रान्स फुटबल प्रतियोगिताको उद्घाटन खेलमा पथरी भेट्रान्स (निलो) मोरङ विजयी भएको छ ।
उद्घाटन खेलमा झापाको दमक लखनपुर भेट्रान्सलाई २-१ गोल अन्तरले पराजित गर्दै पथरीले सेमिफाइनलको यात्रा तय गरेको हो ।

खेलको शुरु भएको चौथो मिनेटमै रजिन सिवाकोटीले गोल गर्दै घरेलु टोली पथरीलाई अग्रता दिलाए । ५०औं मिनेटमा बुद्ध चेमजोङले पथरीको अग्रता दोब्बर पारे । शरण कुमार राईले ६५औं मिनेटमा गोल फर्काए पनि दमकको हार टार्न सकेनन् ।
खेलको म्यान अफ दि म्याच पथरीका अनिल चुडाल घोषित भए । उनले दुई हजार नगद सहित मेडल प्राप्त गरे ।

प्रतियोगिताको उद्घाटन पथरी शनिश्चरे नगरपालिकाका मेयर मोहन प्रसाद तुम्बापोले एक कार्यक्रमबीच गरेका थिए । प्रतियोगिताअन्तर्गत आइतबार पथरी भेट्रान्स (रातो), मोरङ र इटहरी भेट्रान्स, सुनसरीबीच दोस्रो क्वाटरफाइनल खेल हुनेछ ।
पथरी शनिश्चरे भेट्रान्स एफसीको आयोजनामा शुरु भएको प्रतियोगितामा मोरङ र झापाका गरी कुल ८ वटा टिमको सहभागिता रहेको छ । प्रतियोगिताको विजेताले उपाधि सहित १ लाख ११ हजार १ एक सय ११ तथा उपविजेताले ५५ हजार ५ सय ५५ रुपैयाँ नगद पुरस्कार प्राप्त गर्नेछन् । प्रतियोगिताको फाइनल खेल माघ २४ गते हुनेछ ।
