मोरङको ग्रामथान गाउँपालिका-६ स्थित गढी टोलमा जारी दोस्रो मन्जिल मन्डल स्मृति रानीगढी फुटबल प्रतियोगितामा बेलबारीको मट्यारी फुटबल क्लब फाइनलमा प्रवेश गरेको छ ।
मंगलबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको संयुक्त युवा क्लबलाई पेनाल्टी सुटआउटमा ५-४ ले पराजित गर्दै मट्यारी फाइनलमा प्रवेश गरेको हो ।
निर्धारित समय १–१ गोलको बराबरीमा टुंगिएसँगै खेलको निर्णय पेनाल्टी सुटआउटबाट गरिएको हो । निर्धरित समयको खेलमा मट्यारीका लागि सुजन सरदारले गोल गरे भने संयुक्तका लागि कप्तान कबिन्द्र चौधरीले गोल गरे ।
खेलको म्यान अफ दि म्याच मट्यारीका गोलरक्षक अजय परियार घोषित भए । उनले नगद एक हजार रुपैयाँ प्राप्त गरे ।
मट्यारीले अब उपाधिका लागि दोस्रो सेमिफाइनलको विजेतासँग खेल्नेछ । दोस्रो सेमिफाइनलमा भोलि अल्फालाईन कन्सट्रक्सन फुटबल क्लब र हरैंँचा स्पोर्टिङ क्लब भिड्नेछन् । खेल दिउँसो ४ बजे सुरु हुनेछ ।
प्रतियोगिताको विजेताले नगद ३० हजार रुपैयाँ र उपविजेताले नगद २० हजार रुपैयाँ प्राप्त गर्नेछ । श्री रानी गढी फुटबल क्लबको आयोजनामा भएको प्रतियोगितामा आठ टोलीको सहभागिता रहेको थियो ।
