मोरङको बुढीगंगा गाउँपालिकामा जारी पाँचौं बुढीगंगा सुक्चर च्यालेञ्ज कप फुटबल प्रतियोगितामा मोरङ हरैँचाको पूर्वाञ्चल युनाइटेड क्लब सेमिफाइनलमा प्रवेश गरेको छ ।
शनिबार बुढीगंगा गाउँपालिका- ६ स्थित सुक्चर खेल मैदानमा भएको दोस्रो क्वार्टरफाइनलमा विराटनगर सिटी एफसीलाई १-० गोलले स्तब्ध पार्दै पूर्वाञ्चल अन्तिम चारमा प्रवेश गरेको हो ।
पूर्वाञ्चललाई जित दिलाउन बबिन बोहोराले निर्णायक गोल गरे । उनले पहिलो हाफको इन्जुरी समयमा गोल गरेका थिए ।
निर्णायक गोलकर्ता बबिन बोहोरा खेलको म्यान अफ दि म्याच चुनिए । उनले नगद २१०० सहित ट्रफी प्राप्त गरे । उनलाई आयोजक नव युवा क्लबका अध्यक्ष मुकेश राम चौधरीले पुरस्कार प्रदान गरे ।
प्रतियोगिता अन्तर्गत आइतबारको तेस्रो क्वाटरफाइनल सुनसरी रामधुनीको पंचायन एफसी र मोरङ केराबारीको केराबारी एफसीबीच प्रतिस्पर्धा हुनेछ ।
नव युवा क्लबको आयोजनामा जारी प्रतियोगितामा कुल ८ वटा टोलीको सहभागिता छ । असोज १८ गतेसम्म चल्ने यस प्रतियोगिताको विजेताले नगद एक लाख एक हजार रुपैयाँ प्राप्त गर्नेछ भने उपविजेताले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ ।
