काठमाडौं। जेभियर इन्टरनेसनल कलेज र क्यापिटल कलेज एन्ड रिसर्च सेन्टर (सीसीआरसी) ग्लोबल हुप फेस्टअन्तर्गत अन्तरकलेज प्लस टु छात्र बास्केटबल प्रतियोगितामा बुधबार सेमिफाइनलमा प्रवेश गरेका छन् ।
दुवै टोली एक खेल अगावै सेमिफाइनलमा पुगिसकेको भएपनि बुधबारको खेलले समूह विजेता र उपविजेताको टुंगो लगाएको हो । जेभियर अपराजित रहँदै समूह ‘ए’ को विजेता तथा सीसीआरसी समूह ‘बी’ को उपविजेता बने ।
सानागाउँस्थित रोयल स्पोर्ट्स सेन्ट्रलको हलमा जेभियरले ग्रिनफिल्ड नेसनल कलेजलाई ७४-६१ ले पराजित गर्यो। जेभियरका साइरस मगरले २४ अंक जोडे । ग्रिनफिल्ड पनि समूह उपविजेताका रुपमा सेमिफाइनल पुग्न सफल भयो ।
अबाइड ग्लोबल एजुकेसन कन्सल्टेन्सी प्रा.लि. को आयोजनामा भइरहेको प्रतियोगितामा सीसीआरसीले टाइम्स इन्टरनेसनल कलेजलाई ५७-५१ ले हरायो । सीसीआरसीका तुसार महर्जनले २६ स्कोर गरे ।
सेमिफाइनलमा सीसीआरसीको भेट जेभियरसंग हुनेछ । अर्को सेमिफाइनलमा ग्रिनफिल्डले समूह ‘बी’ को विजेता प्रिमियरको सामना गर्ने छ । प्रतियोगिताबाट बाहिरीसकेका दुई टोली गोल्डेनगेट ‘ए’ र गोल्डेनगेट ‘बी’ ले पनि जित निकाले ।
गोल्डेनगेट ‘ए’ ले मल्पीलाई ३८-२३ तथा गोल्डेनगेट ‘बी’ ले पुष्पसदनलाई ६६-४० ले पाखा लगाए । गोल्डेनगेट ‘ए’ का प्रज्ज्वल अधिकारीले १२ तथा गोल्डेनगेट ‘बी’ का सागर लामिछानेले २० अंक जोडे ।
