पाँचथरको फिदिम स्पोर्टिङ क्लबविरुद्ध फराकिलो जित निकाल्दै सिराहाको सलहेश युवा क्लब तेश्रो संस्करणको ताप्लेजुङ गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा मंगलबार भएको चौथो तथा अन्तिम क्वार्टरफाइनल खेलमा फिदिमलाई ६-० ले पराजित गर्दै सलहेशले सेमिफाइनलमा स्थान बनाएको हो ।

खेलको पाँचौं मिनेटमा विदेशी खेलाडी सोडिया एडमको गोलमार्फत सलहेशले अग्रता लिएको थियो । ३५औं मिनेटमा सुजित बढाथोकीले गोल गर्दै सलहेशको अग्रता दोब्बर पारे । ३७औं मिनेटमा अर्का विदेशी खेलाडी युसुफ मलिकले गोल गरेपछि सलहेश ३-० ले अघि बढ्यो ।

त्यसको पाँच मिनेटपछि फिदिमका जङ खड्काले आत्मघाती गोल गर्दा सलहेशले पहिलो हाफ मै ४-० को अग्रता बनाएको थियो ।

खेलको ६६औं मिनेटमा युसुफ मलिकले ब्यक्तिगत दोस्रो तथा टिमका लागि पाँचौं गोल गरे । अन्ततः मोहित गुरुङले खेलको ८०औं मिनेटमा गोल गर्दै टिमलाई ६–० को जित दिलाए ।

खेलको म्यान अफ दी म्याच दुई गोल गरेका सलहेशका युसुफ मलिक भए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बुधबारको पहिलो सेमिफाइनल खेल सुनसरीको द यङ ब्रदर्स क्लब र ललितपुरको चर्च ब्वाइज क्लबबीच हुनेछ । 

लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ । प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *