ताप्लेजुङ । ललितपुरको चर्च ब्वाइज युनाइटेड ताप्लेजुङको फुङलिङमा जारी तेस्रो अन्तर्राष्ट्रिय आमन्त्रण ताप्लेजुङ गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।

ताप्लेजुङ सदरमुकामस्थित भानुजन माध्यमिक विद्यालयको खेल मैदानमा बुधबार भएको पहिलो सेमिफाइनलमा सुनसरीको द योङ ब्रदर्श क्लबलाई टाइब्रेकरमा ३–१ ले पराजित गर्दै चर्च ब्वाइज उपाधि नजिक पुगेको हो।

निर्धारित समय १-१ को बराबरीमा सकिएपछि खेलको निर्णय ट्राइब्रेकरबाट भएको थियो । टाइब्रेकरमा चर्च ब्वाइजका सुमन श्रेष्ठ, रोशन पहारी र युवराज ढकालले गोल गरे । नवयुग श्रेष्ठको प्रहार भने बाहिरियो ।

द योङका निरज खड्का मात्र गोल गर्न सफल भए । विशाल तामाङ र निवाश फुयलका प्रहार चर्च ब्वाइजका गोलरक्षक विवश चौधरीले बचाए । युगन राईको प्रहार पोस्टमा लागेर बाहिरियो ।

त्यसअघि खेलको ७७औं मिनेटमा चर्च ब्वाइजका खेलाडीको आत्मघाती गोलका कारण द योङले १–० को अग्रता लिएको थियो । तर, खेल सकिन एक मिनेट रहँदा चर्च ब्वाइजका सुमन श्रेष्ठले गोल गर्दै खेल १–१ को बराबरीमा ल्याए ।

खेलको प्लेयर अफ दि म्याच चर्च ब्वाइजका सुमन श्रेष्ठ भए । उनले नगद सात हजार रुपैयाँ पुरस्कार प्राप्त गरे । प्रतियोगिता अन्तर्गत बिहिवारको दोस्रो सेमिफाइनल झापाको रेडस्टार फुटबल क्लब र सिराहाको सलहेस युवा क्लबबीच हुनेछ ।

लाखे जात्रा संचालन समितिले आयोजना गरेको प्रतियोगितामा कुल आठ टिम सहभागी छन् । प्रतियोगिताको उपाधि विजेताले ७ लाख २ हजार ८२ रुपैयाँ र उपविजेताले ३ लाख ५० हजार ८२ रुपैयाँ पुरस्कार प्राप्त गर्ने छन् । साथै, प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडीले एक थान मोटरसाइकल प्राप्त गर्ने आयोजकले जनाएको छ ।

प्रतियोगिताको फाइनल खेल साउन ३१ गते हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *