फिफा क्लब विश्वकप अन्तर्गत समूह ‘ए’ बाट इन्टर मायमी र पाल्मेइरास अन्तिम १६ मा प्रवेश गरेका छन् ।
समूह ए को दुवै खेल बराबरीमा सकिएपछि पाल्मेइरास समूह विजेता बन्न सफल रहेको हो । इन्टर मायमी र पाल्मेइरासको खेल २-२ को बराबरीमा सकिँदा एफसी पोर्टो र अल अहलीले ४-४ को रोमान्चक बराबरी खेले ।
इन्टरले खेलमा २-० को अग्रता लिएपनि त्यसलाई जोगाउन नसक्दा समूह विजेता बन्ने अवसर गुमायो । पहिलो हाफमा तादेओ आलेन्देको गोलमा इन्टरले अग्रता लिएको थियो । उनले १६ औं मिनेटमा सुआरेजले छुटाएको काउन्टर अट्याकमा गोल गरेका थिए ।
सुआरेजले ६५ औं मिनेटमा इन्टरको अग्रता दोब्बर पारे । उनले २ डिफेन्डरलाई बिट गर्दै पेनाल्टी क्षेत्र भित्रबाट गोल गरेका थिए । तर पाल्मेइरासले अन्तिम १० मिनेटमा २ गोल फर्कायो । ८० औं मिनेटमा पाउलिन्होले गरेको फितलो प्रहार गोल भयो । त्यसको ८ मिनेटपछि माउरिसियोले क्लियर हुन नसकेको बललाई गोलको दिशा दिए ।
अर्को खेलमा विसाम अबु अलीको ह्याट्रिकमा अल अहली र पोर्टोको खेल ४-४ को बराबरी भयो । अल अहलीले ४ पटक अग्रता लिएपनि पोर्टोले चारै पटक बराबरी गोल फर्काएको थियो । ८९ औं मिनेटमा पेपेले चौथो बराबरी गोल गरेका थिए ।
पाल्मेइरास र इन्टर समान ५-५ अंक जोड्दै अघि बढे । गोलअन्तरमा पाल्मेइरास शीर्षस्थानमा रह्यो । पोर्टो र अल अहलीले २-२ अंक जोडे ।
