युरोपेली च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) फिफा क्लब विश्वकप अन्तर्गत समूह बी को विजेता बन्दै अन्तिम १६ चरणमा अघि बढेको छ ।
पिएसजीले समूह चरणको अन्तिम खेलमा सिआटल साउन्डर्सलाई २-० ले पराजित गर्दै अंक तालिकाको शीर्षस्थानमा उक्लिएको हो । पिएसजीले खेलको ३५ औं मिनेटमा क्विचा क्वारात्क्षेलियाको गोलमा अग्रता लिएको थियो । दोस्रो हाफको ६७ औं मिनेटमा अक्रफ हाकिमीले अग्रता दोब्बर पारे ।

समूहको अर्को खेलमा एटलेटिको म्याड्रिडले बोटाफोगोलाई १-० ले पराजित गरेपछि पिएसजी समूह विजेता बनेको हो । एटलेटिकोले ८७ औं मिनेटमा एन्टोइन ग्रिजमनको गोलमा अग्रता लिएको थियो । बोटाफोगो आफैं भने बराबरी मात्र खेलेको अवस्थामा पनि समूह विजेता बन्ने थियो ।
एटलेटिको भने जितका बाबजुद अर्को चरणमा अघि बढ्न सकेन । अंक तालिकामा पिएसजी, बोटाफोगो र एटलेटिकोको समान ६-६ अंक भएपनि गोलअन्तरका आधारमा पिएसजी शीर्षस्थानमा र बोटाफोगो समूह उपविजेता बन्दै अघि बढे । सिआटल भने अंकविहिन रहेर पुछारमा रहँदै बाहिरियो ।
