नेपालले आउँदो अक्टोबरमा भियतनामविरुद्धको एएफसी एसियन कप छनोट खेल अगाडि बंगलादेशसँग एक अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल खेल्ने प्रस्ताव राखेको छ ।

बंगलादेश फुटबल महासंघ (बिएफए) का उपाध्यक्ष फहाद करिमका अनुसार नेपालले औपचारिक रूपमा सेप्टेम्बर फिफा विन्डोमा मैत्रीपूर्ण फुटबल खेल्ने प्रस्ताव राखेको हो ।

बंगलादेशले भने नेपालभन्दा माथिल्लो स्तरका टोलीसँग खेल्ने तयारी गरिरहेको छ । प्रिमियर लिग खेलाडी हम्जा चौधरीलाई टोलीमा भित्र्याएपछि बंगलादेशको फुटबलमा थप उत्साह र चर्चा देखिएको छ ।

त्यसैले बंगलादेशले सातवटा युरोपेली राष्ट्रलाई मैत्रीपूर्ण खेलका लागि प्रस्ताव पठाएको थियो । तर समय तालिका नमिलेकाले लुथुनियाबाहेक अरू सबै राष्ट्रले बंगलादेशको प्रस्ताव अस्वीकार गरेको करिमले बताए ।

उनका अनुसार अब अफगानिस्तान, यमन र चाइनिज ताइपेई बंगलादेशका सम्भावित प्रतिद्वन्द्वी हुन् । साथै, श्रीलंकाले आयोजना गर्न लागेको चार देश सम्मिलित फुटबल प्रतियोगितामा पनि सहभागिता जनाउने तयारी भइरहेको छ ।

एएफसी एसियन कप छनोटको समूह ‘एफ’ मा रहेको नेपाल यसअघि मलेसियासँग २-० र लाओससँग २-१ ले पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *