वेस्ट ह्याम युनाइटेडले म्यानचेस्टर युनाइटेडलाई २-० ले हराउँदै फेब्रुअरीपछि प्रिमियर लिगमा पहिलो जित दर्ता गरेको छ ।

ओल्ड ट्राफोर्डमा आइतवार भएको खेलमा टमास साउसेकले २६औं मिनेटमा मोहम्मद कुडुसको पासमा गोल गर्दै सिजनको नवौं गोल गरे ।

कुडुसले हामर्सका लागि खेलभरि अवसर सिर्जना गर्न प्रयास जारी राखे । दोस्रो हाफको मध्यतिर जारोड बोवेनले बक्सभित्रबाट अर्को लो पासमा गोल गर्दै अग्रता दोब्बर बनाइदिए ।

युनाइटेडले खेलको अन्त्यतिर कम्तीमा गोल फर्काउने प्रयास गर्यो । जहाँ रस्मुस होयलुनले केही अवसर पाए तापनि गोल गर्न असफल रहे ।

यो सिजन युनाइटेडको घरेलु मैदानमा यो नवौं प्रिमियर लिग हार हो । जुन सन् १९६२ पछि पहिलो पटक भएको हो ।

वेस्ट ह्यामले सन् २००७ पछि ओल्ड ट्राफोर्डमा पहिलो जित हासिल गरेको छ । साथै २००६/०७ सिजनपछि युनाइटेडविरुद्ध दुवै लेगमा जित निकालेको छ ।

जितसँगै ३६ खेलमा ४० अंक जोडेको वेस्ट ह्याम अंक तालिकामा १५औं स्थानमा उक्लिएको छ । पराजित युनाइटेड समान खेलबाट ३९ अंकसहित १६औं स्थानमा झरेको छ ।

लिगअन्तर्गत आइतबार नै भएका खेलमा क्रिस्टल प्यालेसले टोटेनहमलाई २-० ले हराउँदा नटिङ्घम फरेस्ट र लेस्टर सिटीले २-२ को बराबरी खेले ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *