आर्सनलले प्रिमियर लिगको विजेता टोली लिभरपुललाई बराबरीमा रोकेको छ ।
आइतवार २-० ले पछि परेको अवस्थाबाट उल्टाउँदै आर्सनललर २-२ को बराबरी गरेको हो । यद्यपि मिकेल मेरिनोको रातो कार्डपछि आर्सनल १० खेलाडीमा सीमित भएको थियो ।
दोस्रो स्थान सुनिश्चित गर्ने लक्ष्यमा अझै संघर्षरत आर्सनलले खेल सुरु हुनु अघि एनफिल्डमा लिभरपुललाई ‘गार्ड अफ अनर’ दिएको थियो ।
८७ सेकेन्डको अन्तरालमा लिभरपुलले दुई गोल गर्दै सहज अग्रता लिएको थियो । कोडी गाक्पोले २० औं मिनेटमा पहिलो गोल गरे । लगत्तै २१ औं मिनेटमा लुइस डियाजले दोस्रो थपे ।
तर दोस्रो हाफपछि आर्सेनलले बलियो रूपमा पुनरागमन गर्यो। गेब्रियल मार्टिनेलीले ४७ औं मिनेटमा गोल फर्काए । त्यसपछि ७० औं मिनेटमा मेरिनोको डाइभिङले हेडर गोल गर्दै खेललाई बराबरीमा ल्याए ।
७९ औं मिनेटमा मेरिनो दोस्रो पहेँलो कार्ड पाएर बाहिरिएपछि लिभरपुलले दबाब थपेको थियो, तर एन्डी रोबर्टसनको सम्भावित विजयी गोल फाउलको कारण अस्वीकार गरियो ।
आर्सनलले बराबरी जोगाउँदै ६८ अंकसहित तेस्रो स्थानको न्युक्यासल युनाइटेडलाई २ अंकले पछि परेको छ ।
