स्पानिस ला लिगा अन्तर्गत चर्चित एल क्लासिको मा शीर्ष स्थानको बार्सिलोनाले रियल मड्रिडमाथि रोमाञ्चक जित निकालेको छ ।
आइतबार राति भएको खेलमा बार्सिलोनाले रियललाई ४-३ ले पराजित गरेको हो । २-० ले पछाडि परेको अवस्थामा बार्सिलोनाले रियललाई हराएको हो ।
इस्टाडी ओलिम्पिक लुइस कम्पानिसमा घरेलु टोली बार्सिलोनालाई जित दिलाउन राफिन्हाले दुई तथा एरिक गार्सिया र लामिन यामालाले समान एक गोल गरे । रियलका लागि केलियन एम्बाप्पेले ह्याट्रिक गरे ।
खेलको सुरुमै एमबाप्पेले दुई गोल गर्दै रियललाई अग्रता दिलाएपनि रियलले कायम राख्न सकेन भने बार्सिलोनाले पुनरागमन गर्यो ।
एमबाप्पेले खेलको पाँचौ र १४औं मिनेटमा गोल गर्दै रियललाई २-० को अग्रता दिलाएका थिए ।
तर यो अग्रता लामो समय टिकेन । एरिक गार्सियाले १९औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई खेलमा फर्काए । यामलले ३२औं मिनेटमा बार्सिलझनाका लागि बराबरी गोल गरे ।
त्यसपछि राफिन्हाले दुई गोल गर्दा बार्सिलोनाले पहिलो हाफमै ४-२ को अग्रता बनायो। रफिन्हाले ३४औं र ४५औं मिनेटमा गोल गरे ।
दोस्रो हाफमा एमबाप्पेले एक गोल गर्दै ह्याट्रिक पूरा गरेपनि रियललाई जिताउन सकेनन् । एमबाप्पेले ७० औं मिनेटमा ह्याट्रिक पूरा गरेपछि गोल अन्तर कम पारे ।
जितसँगै बार्सिलोनाले स्पेनिस ला लिगाको उपाधि सम्भावना बलियो बनाएको छ। शीर्ष स्थानको बार्सिलोनाले ३५ खेलबाट ८२ अंक छ । पराजित रियल समान खेलबाट ७५ अंकसहित दोस्रो स्थानमा छ ।
लिगमा अब ३ चरणको खेल बाँकी छ । बार्सिलोनालाई लिगको उपाधि जित्न अब एक खेल जिते पुग्नेछ ।
