रियल म्याड्रिडका प्रशिक्षक कार्लो एन्सेलोट्टी यो सिजनको अन्त्यमा स्पेनी क्लब छाडेर ब्राजिलियन राष्ट्रिय टोलीको नयाँ प्रशिक्षक बन्ने भएका छन् ।

६५ वर्षीय इटालियन प्रशिक्षकले ला लिगा सिजनको समाप्तिपछि मे २६ मा ब्राजिलको जिम्मेवारी आधिकारिक रुपमा सम्हाल्ने बताइएको छ ।

उनी स्यान्टियागो बर्नाबेउ क्लबका सबैभन्दा सफल प्रशिक्षकहरूमध्ये एकका रुपमा क्लब छाड्दै छन् । एन्सेलोट्टीले दुई कार्यकालमा रियलको प्रशिक्षकका रूपमा १५ उपाधि जितेका छन् । गएको सिजन उनले रियललाई च्याम्पियन्स लिग र ला लिगा दुवै जिताएका थिए ।

तर, आइतबारको ‘एल क्लासिको’ पराजयपछि रियल शीर्ष स्थानमा रहेको बार्सिलोनाभन्दा ७ अंकले पछि परेपछि उनको बिदाइ पक्का जस्तै देखिएको थियो । ला लिगामा यो सिजन ३ खेल मात्र बाँकी छन् ।

बार्सिलोनाले अत्यन्तै खराब प्रदर्शन नगरेसम्म, यो नतिजाले रियल ४ वर्षमा पहिलो पटक उपाधिविहीन सिजन समाप्त गर्ने लगभग निश्चित देखिन्छ ।

ब्राजिलियन फुटबल कन्फेडेरेसन (सिबिएफ) को विज्ञप्तिमा एन्सेलोट्टीलाई खेलको एक महान व्यक्ति भनेर वर्णन गरेको छ । टिमको जिम्मेवारी एक विदेशी प्रशिक्षकलाई दिइनु ऐतिहासिक कदम भएको पनि बताएको छ ।

५ पटकको फिफा विश्वकप विजेता ब्राजिल टोली र युरोपका ठूला प्रतियोगितामा अद्वितीय कीर्तिमान बनाएका प्रशिक्षकबीचको मिलनलाई सिबिएफले एतिहासिक क्षण रहेको बताएको छ ।

विज्ञप्तिमा भनिएको छ, ‘सिबिएफ एन्सेलोट्टीलाई हार्दिक स्वागत गर्दछ र उनको नेतृत्वमा नयाँ सफलताको युग प्रारम्भ हुने आशा राख्दछ ।’

सिबिएफले प्रशिक्षकको अनुबन्ध अवधि समाप्त हुनु अघि नै सहजीकरण गरेकोमा रियलका अध्यक्ष फ्लोरेन्टिनो पेरेजलाई धन्यवाद पनि दिएको छ । एन्सेलोट्टीको हालको सम्झौता सन् २०२६ को जुनमा समाप्त हुने तय भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *