रियल सोसिडाडलाई पराजित गर्दै रियल मड्रिड कोपा डेल रे को फाइनलमा प्रवेश गरेको छ । 

मंगलबार राति भएको सेमिफाइनलमा रियल सोसिडाडसँग ४–४ को बराबरीमा रोकिएपनि समग्रमा ५–४ को जित निकाल्दै मड्रिड कोपा डेल रे को फाइनलमा पुगेको हो । 

सेमिफाइनलको पहिलो लेगमा मड्रिडले सोसिडाडलाई १–० गोल अन्तरले हराएको थियो ।  वैकल्पिक खेलाडीको रुपमा मैदान छिरेका एन्टोनिय रुडिगरले १ सय १५ औँ मिनेटमा गोल गर्दै रियललाई फाइनलमा पुर्याउन सहयोग गरे । 

पहिलो हाफ १–१ को बराबरीमा सकिएको खेलमा बाँकी सबै गोल दोस्रो हाफमा सम्भव भए । रियल सोसिडाडका लागि मिकेल ओयारजवालले दुई गोल गरेपनि टोलीको हार टार्न सकेनन् । 

रोमाञ्चक र उतरचढावपूर्ण बनेको दोस्रो हाफमा २१ मिनेटको अवधिमा पाँच गोल भएका थिए । दुवै टोली सेभियामा हुने फाइनलमा पुग्न आक्रामक देखिंदा खेल रोमाञ्चक बनेको थियो ।

पहिलो हाफको १६औं मिनेटमा आनदर बारेनटेक्साको गोलमा सोसिडाडले सुरुवाती अग्रता बनाएको थियो । तर, खेलको ३०औं मिनेटमा एन्ड्रिकको गोलमा मड्रिड बराबरीमा आएको थियो । 

७२औं मिनेटमा डेभिड अलावाले आत्मघाति गोल गरेपछि सोसिडाडले खेलमा २-१ अग्रता बनायो । आठ मिनेटपछि मिकेल ओयारजवालले गोल गर्दा सोसिडाड ३-१ ले अघि बढ्यो ।

तर, रियलले ८२औं मिनेटमा जुड बेलिङ्घम र ८६औं मिनेटमा ओरलियन चुआमेनीका गोलसहित खेल बराबरी गर्‍यो । 

खेल समाप्त हुन केही मिनेट मात्र बाँकी रहँदा ओयारजवालले स्टपेज टाइममा हेडर गोल गर्दै खेललाई अतिरिक्त समयतर्फ धकेलिदिए । तर, अन्ततः रुडिगरको गोलले रियललाई ५-४ को कुल स्कोरमा फाइनलमा पुर्‍यायो ।

सेमिफाइनलको दोस्रो लेगमा आज राति बार्सिलोना र एथलेटिको मड्रिड भिड्नेछन् । सेमिफाइनलको पहिलो लेगमा बार्सिलोना र एथलेटिकोले ४–४ को बराबरी खेलेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *