अखिल नेपाल फुटबल संघ (एन्फा) ले नेपाली राष्ट्रिय महिला फुटबल टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुलाएको छ ।
एन्फाले सोमबार एक सूचना जारी गर्दै महिला टोलीको मुख्य प्रशिक्षकका लागि आवेदन खुला गरिएको जानकारी गराएको छ ।
एन्फाले खुला गरेको आवेदन अनुसार नेपाली महिला टोलीले अब पहिलो पटक प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक पाउने भएको छ । आवेदन दिन इच्छुक प्रशिक्षकले प्रो-लाइसेन्स प्राप्त गर्नुका साथै सिनियर महिला टोली अथवा युथ राष्ट्रिय टोली सम्हालिसकेको हुनुपर्ने एन्फाले जनाएको छ।
यस्तै कम्तिमा दुई वर्ष प्रशिक्षण गराएको अनुभव हुनुपर्ने छ । नेपाली राष्ट्रिय महिला टोलीले आगामी जुन र जुलाईमा एएफसी महिला एशियन कप छनौट २०२६ खेल्दै छ । एन्फाले यही एशियन कप छनौटलाई लक्षित गरि नेपाली महिला टोलीमा प्रो-लाइसेन्स प्राप्त प्रशिक्षक नियुक्त गर्ने तयारी गरेको हो ।
यस्तै एन्फाले पर्फमेन्स एनलाइसिसको लागि पनि आवेदन खुरा गरेको छ । पर्फमेन्स एनलाइसिसको लागि फिटनेस कोर्सको प्रमाणपत्र हुनुपर्ने र लेभल वानको डाटा एनलाइसिस गरेको एक वर्षको अनुभव हुनुपर्ने जनाएको छ ।
एशियाली फुटबल महासंघ (एएफसीले) ले गरेको खेल तालिका अनुसार समूह ‘एफ’ मा रहेको नेपालले लाओससँग खेल्दै छनौटको शुरुवात गर्ने छ । नेपाल र लाओसबीचको खेल आगामी जुन २९ मा हुनेछ । नेपालले दोश्रो खेल जुलाई २ मा श्रीलंका र तेश्रो तथा अन्तिम खेल जुलाई ५ मा उज्वेकिस्तानसँग खेल्ने छ ।
समूह ‘एफ’ मा नेपालसँगै उज्वेकिस्तान, लाओस र श्रीलंका रहेका छन् । यस समूहका छनौट खेलहरु उज्वेकिस्तानमा हुनेछन् । छनौटमा ३४ राष्ट्रले प्रतिस्पर्धा गर्नेछन् भने सहभागि टोलीलाई ८ समूहमा विभाजन गरिएको छ।
जसमा २ समूहमा ५ र ६ समूहमा ४ राष्ट्रलाई समावेश गरिएको छ। छनौटपछि प्रत्येक समूहको शीर्ष स्थानमा रहने राष्ट्रले अष्ट्रेलियामा हुने एशियन कपमा आफ्नो स्थान पक्का गर्नेछन् ।
