फरवार्ड यमन महर्जनको निर्णायक गोलमा श्री कुमारी क्लबले सहिद स्मारक ‘बी’ डिभिजन लिगमा पहिलो जित निकालेको छ ।
सोमबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा सम्पन्न खेलमा बाँसबारी क्लबलाई १-० गोलले पराजित गर्दै श्री कुमारीले पहिलो जित निकालेको हो ।
यमनले खेलको ७५औं मिनेटमा हेडर गोल गरेका थिए । निशान्त प्रधानले राइट साइडबाट दिएको कटब्याकलाई सदुपयोग गरेका यमनले बललाई दोस्रो बारको जाली चुमाएका थिए ।
जितसँगै ५ खेलबाट ३ अंक जोडेको श्री कुमारी एक स्थान १३औं स्थानमा उक्लिएको छ । पराजित बाँसबारी समान खेलबाट ६ अंकसहित पाँचौं स्थानमा यथावत् छ ।
दिनको दोस्रो खेलमा मध्यपुर युथ एसोसिएसन र ब्वाइज युनियन क्लबबीच प्रतिस्पर्धा हुनेछ । खेल दिउँसो ३ः४५ बजे सुरु हुनेछ ।
