शहिद स्मारक ‘बी’ डिभिजन लिगमा ब्वाइज युनियन क्लबले रोमाञ्चक जित हासिल गरेको छ ।
आइतबार सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको दोस्रो खेलमा ब्वाइज युनियनले सरस्वती युथ क्लबलाई २-१ गोल अन्तरले पराजित गरेको हो ।
ब्वाइज युनियनलाई जित दिलाउन दिव्यविक्रम चौधरी र मिलन लामाले गोल गर्दा सरस्वतीका लागि विकेश लामाले गोल गरे ।
खेलको २६ औं मिनेटमा विकेशले गोल गर्दै सरस्वतीलाई शुरुवाती अग्रता दिलाएका थिए । तर, ३५ औं मिनेटमा दिव्यविक्रमले ब्वाइज युनियनका लागि बराबरी गोल फर्काए ।
त्यसपछि खेलको दोश्रो हाफको इन्जुरी समयमा मिलनले गोल गर्दै ब्वाइज युनियनलाई जित दिलाए ।
जितसँगै ७ खेलबाट ९ अंक जोडेको ब्वाइज युनियन अंकतालिकामा पाँचौं स्थानमा उक्लिएको छ। पराजित सरस्वती समान खेलबाट ६ अंकका साथ १२ औं स्थानमा झरेको छ ।
आजै भएको पहिलो खेलमा श्री भगवतीले नयाँबस्ती युथ क्लबलाई ३-० गोलले पराजित गरेको थियो ।
