पोखरा थन्डर्स एफसी तेस्रो संस्करणको नेपाल सुपर लिग (एनएसएल) को दोस्रो क्वालिफायरमा प्रवेश गरेको छ ।
आइतबार दशरथ रङ्गशालामा भएको इलिमिनेटरमा एफसी चितवनलाई ३-० गोलले पराजित गर्दै पोखरा दोस्रो क्वालिफायरमा प्रवेश गरेको हो ।
पोखराले चितवनसँग लिग चरणमा भोगेको हारको बदला समेत लिएको छ । पोखरालाई जित दिलाउन जो आइडोले दुई गोल गर्दा एक गोल आत्मघाती उहारस्वरुप प्राप्त भयो । तीनै गोल दोस्रो हाफमा भएका थिए ।
खेलमो ६३औं मिनेटमा चितवनका डिफेन्डर अभिषेक लिम्बुबाट आत्मघाती गोल हुन पुग्दा पोखराले अग्रता लिएको थियो । त्यसपछि ७२औँ मिनेटमा आइडोले टोलीको अग्रता दोब्बर पारे ।
त्यसको ३ मिनेटपछि आइडोले ब्यक्तिगत दोस्रो तथा टोलीका लागि तेस्रो गोल गरे । त्यस्पछि थप गोल हुन नसक्दा पोखरा ३-० ले विजयी भयो ।
अब पोखराले दोस्रो क्वालिफायरमा धनगढी एफसीसँग बुधवार फाइनल प्रवेशको लागि खेल्नेछ । पहिलो क्वालिफायरमा धनगढीलाई २-१ ले हराउँदै ललितपुर सिटी एफसी अपराजित रहँदै फाइनलमा पुगिसकेको छ ।
