नेपाल सुपर लिग (एनएसएल) ले आफ्नो फ्रेन्चाइज क्लब पोखरा थन्डर्स एफसीका अफिसयललाई प्रतिबन्ध लगाउँदै क्लबलाई जरिवाना गर्ने निर्णय गरेको छ ।
एनएसएलले बिहिबार एक विज्ञप्ति जारी गर्दै पोखरा थन्डर्सका अफिसियल सुन्दर थापालाई जारी तेश्रो संस्करण अन्तर्गत बाकी रहेका खेल अवधिभर दशरथ रंगशाला प्रवेशमा प्रतिबन्ध लगाएको जानकारी गराएको हो ।
लिगको तेश्रो सिजनको पाचौं दिन बुधबार भएको ललितपुर सिटी एफसीविरुद्धको खेलका क्रममा पोखराका अफिसियल सुन्दर रेफ्रीसँग झगडा गर्न खेल मैदानमा प्रवेश गरेका थिए ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा भएको खेलको ८० औं मिनेटमा मार्की खेलाडी समीर तामाङको क्रसमा कप्तान नवयुग श्रेष्ठले गोल पोस्टमा प्रहार गरेका थिए । उनको प्रहार ललितपुरका गोलकिपर जेफ्री बाल्टसले रोके पनि पोखराका खेलाडीको भने बलले गोललाइन क्रस गरेको दावी थियो ।
तर, रेफ्री नविन्द्र महर्जन र सहायक रेफ्री किशनकनैया यादवले नवयुगको प्रहारमा गोल नभएको ठहर गरेपछि पोखराका खेलाडी र प्रशिक्षक सुमन श्रेष्ठले टचलाइन छाडेर सहायक रेफ्री यादवसँग विवादमा उत्रिएका थिए ।
विवाद साम्य नभएपछि दर्शकदिर्धामा रहेका अफिसियल थापाले मैदानमा प्रवेश गरेर रेफ्रीमाथि हात हाल्ने प्रयास गरेका थिए । जस कारण केही समय खेल रोकिन समेत पुगेको थियो । विवादित बनेको यो खेलमा ललितपुर ३-२ गोल अन्तरले विजयी भएको थियो ।
एनएसलले क्लबलाई अफिसियल थापाको एक्रीडेसन कार्ड पनि जतिसक्दो छिटो फिर्ता गर्न अनुरोध गरेको छ । विवादकै क्रममा टिमको डगआउटभित्र आक्रोशित बनेका अफिसियल दीपक श्रेष्ठलाई पनि दुई खेलको प्रतिबन्ध लागेको छ ।
त्यसैगरी पोखरा थन्डर्सलाई अनुशासन तोडेको र खेल भावना विपरीत कार्यमा संलग्न रहेको ठहर गर्दै ५० हजार रुपैयाँ जरिवाना पनि तोकिएको छ ।
