रियल मड्रिडका डिफेन्डर एन्टोनियो रुडिगरलाई रेफ्रीप्रति गलत व्यवहार गरेको आरोपमा ६ खेलको प्रतिबन्ध लगाइएको छ ।
बार्सिलोनासँगको कोपा डेल रे फाइनलमा ३-२ को हार भोग्दा अतिरिक्त समयमा उनले रेफ्रीलाई कराएको र बरफको झोला फ्याँकेको आरोप लागेको थियो ।
स्पेनिस फुटबल महासंघले यो व्यवहारलाई “सानो हिंसा” ठहर गर्दै कारबाही गरेको हो । रियलका अर्का डिफेन्डर लुकास भास्क्वेजलाई पनि रेफ्रीको विरोध गरेको भन्दै २ खेलको प्रतिबन्ध लगाइएको छ ।
रुडिगरले आफ्नो व्यवहारको माफी मागिसकेका छन् । घटनापछि जर्मनीका पूर्व खेलाडी डाइटमार हमानले उनलाई नेसन्स लिगका लागि जर्मन टोलीबाट हटाउनुपर्ने माग गरेका थिए ।
त्यसैबीच ३२ वर्षीय रुडिगरले मंगलवार बाँया खुट्टाको घुँडामा सफल शल्यक्रिया गराएका छन् । चोटका कारण लामो समयदेखि दुखाइ सहेर खेलेको उनले बताएका छन् । “अब म पीडामुक्त छु, शल्यक्रिया सफल भयो,” उनले अस्पतालको तस्बिरसहित इन्स्टाग्राममा लेखेका छन् ।
उनले अब नेसन्स लिग (जुन ४) र क्लब विश्वकप (जुन १८) का लागि तयारी गर्ने बताएका छन् तर पुनः फर्किन समय लाग्न सक्ने संकेत गरेका छन् ।
