च्यासल युथ क्लब सहिद स्मारक ‘बी’ डिभिजन लिगको तेस्रो स्थानमा उक्लिएको छ ।
बुधबार सातदोबाटोस्थित अखिल नेपाल फुटबल संघ (एन्फा) कम्प्लेक्सको मैदानमा भएको खेलमा नयाँबस्ती युवा क्लबलाई ४-२ गोलअन्तरले पराजित गर्दै च्यासल तेस्रो स्थानमा उक्लिएको हो ।
खेलको १०औं मिनेटमा निरज कार्कीले गोल गर्दै च्यासललाई अग्रता दिलाएका थिए । १८औं मिनेटमा निमावाङ्गेल तामाङबाट आत्मघाती गोल हुन पुग्दा च्यासल २-० ले अघि बढ्यो ।
२३औं सुवास बमठकुरीले गोल गर्दै च्यासललाई ३-० को अग्रता दिलाए । दुई मिनेटपछि नै पूर्णबहादुर गुरुङले नयाँबस्तीका लागि एक गोल फर्काए ।
खेलको ७८औं मिनेटमा कुशल देउवाले गोल गर्दा च्यासलको अग्रता ४-१ मा पुग्यो । ८९औं मिनेटमा जामिन लक्समले नयाँबस्तीका लागि दोस्रो गोल गरे ।
जितसँगै तेस्रो स्थानमा उक्लिएको च्यासलले ९ खेलमा १४ अंक जोडेको छ । पराजित नयाँबस्ती समान खेलबाट आठ अंकका साथ १०औं स्थानमा यथावत छ ।
