राजस्थान रोयल्सले इण्डियन प्रिमियर लिग (आइपिएल) मा लगातार दोस्रो जित निकालेको छ ।
शनिबार राति भएको खेलमा राजस्थानले पन्जाब किंग्सलाई ५० रनले पराजित गरेको हो । पन्जाबको भने यो पहिलो हार हो ।
राजस्थानले दिएको २०६ रनको लक्ष्य पछाएको पन्जाब २० ओभरमा ९ विकेट गुमाउँदै १५५ रनमा नै समेटियो ।पन्जाबका लागि नेहाल वधेराले सर्वाधिक ६२ रन बनाए । ग्लेन म्याक्सवेलले ३० रन बनाए भने प्रभसिमरन सिंहले १७ रन बनाए ।
४३ रनमा ४ विकेट गुमाएको पन्जाबका लागि नेहाल र म्याक्सवेल मिलेर ८८ रनको साझेदारी गर्दै पञ्जाबलाई खेलमा फर्काएका थिए तर १५औं ओभरको अन्तिम बल र १६औं ओभरको पहिलो बलमा लगातार यी दुईको विकेट गुमेपछि पन्जाब फेरि खेलमा पछाडि परेको थियो ।
राजस्थानका जोफ्रा आर्चरले ३ विकेट तथा महिश थिक्साना र सन्दीप शर्माले समान २ विकेट लिए ।
त्यसअघि टस हारेर ब्याटिङको निम्तो पाएको राजस्थानले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०५ रनको योगफल तयार पारेको थियो ।
महाराजा यादविन्द्र सिंह अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा आइपिएलमा अहिलेसम्म २ सय रन कुनैपनि टोलीले कटाउन सकेको थिएन ।
राजस्थानका लागि यशश्वी जैसवालले ६७ रन बनाए भने रियान पराग ४३ रनमा अविजित रहँदा कप्तान सन्जु सामसनले ३८ रन बनाए । पन्जाबका लोकी फर्गसनले २ तथा मार्को जेनसेन र अर्शदीप सिंहले समान १ विकेट लिए ।
जितसँगै ३ खेलबाट ४ अंक जोडेको राजस्थान सातौं स्थानमा उक्लिएको छ । पहिलो हार ब्यहोरेको पन्जाब समान खेलबाट ४ अंक सहित चौथो स्थानमा झर्यो ।
