दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा अपराजित यात्रालाई तेस्रो खेल सम्म कायम राखेको छ ।

शनिबार भएको खेलमा दिल्लीले चेन्नई सुपर किङ्सलाई २५ रनले पराजित गरेको हो । चेन्नईको यस सिजन घरमा यो लगातार दोस्रो हार हो ।

दिल्लीले दिएको १८४ रनको लक्ष्य पछ्याएको चेन्नईले २० ओभरमा ५ विकेट गुमाएर १५८ रन मात्र बनायो ।

विजय शंकरले अर्धशतक बनाएपनि जितका लागि पर्याप्त हुन सकेन । उनी ६९ रनमा अविजित रहे । एमएस धोनी २५ रनमा अविजित रहे ।

दिल्लीका लागि भिपराज निगमले २ तथा मिचेल स्टार्क, मुकेश कुमार र कुलदिप यादवले समान १ विकेट लिए ।

त्यसअघि चेन्नईको घरेलु मैदान एमए चिदम्बरम अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा टस जितेर पहिले ब्याटिङ गरेको दिल्लीले २० ओभरमा ६ विकेट गुमाएर १८३ रनको योगफल तयार पारेको थियो ।

दिल्लीका ओपनर केएल राहुलले सर्वाधिक ७७ रन बनाएका थिए । ५१ बल खेलेका उनले ६ चौका र ३ छक्का प्रहार गरे ।अभिषेक पोरेलले ३३ रन बनाउँदा ट्रिस्टन स्टब्स २४ रनमा अविजित रहे । 

चेन्नईका लागि खलिल अहमदले २ तथा मथिशा पथिराना, रविन्द्र जडेजा र नुर अहमदले समान १ विकेट लिए ।

जितसँगै ३ खेलमा ६ अंक जोडेको दिल्ली अंकतालिकामा शीर्ष स्थानमा उक्लिएको छ । पहिलो खेलमा लखनउ सुपर जायन्ट्सलाई पराजित गरेको दिल्लीले दोस्रो खेलमा सनराइजर्स हैदराबादलाई हराएको थियो ।

उता, चौथो खेल खेलेको ५ पटकको च्याम्पियन चेन्नईको २ अंकका साथ आठौं स्थानमा रहेको छ । चेन्नईले सिजनको पहिलो खेलमा मुम्बई इण्डियन्सलाई पराजित गरेको थियो ।

त्यसपछिका दुई खेलमा भने चेन्नई पराजित भएको थियो । दोस्रो खेलमा रोयल च्यालेन्जर्स बेंगलुरुसँग र तेस्रो खेलमा राजस्थान रोयल्ससँग चेन्नई पराजित भएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *