नवौं संस्करणको विराट गोल्डकप फुटबल प्रतियोगितामा आयोजक मोरङ रिजालको ११ ले विजयी सुरुवात गरेको छ ।
विराटनगरको शहीद रंगशालामा भएको उद्घाटन खेलमा पाहुना टोली भारतको साउथन समिति कोलकातालाई ३–२ गोल अन्तरले हराउँदै आयोजक टोलीले विजयी सुरुवात गरेको हो ।
खेलको दशौं मिनेटमा अभिषेक गुरुङको गोलमार्फत मोरङले अग्रता लिएको थियो । १३औं मिनेटमा सुदीप्ता हाल्देनले कोलकाताका लागि बराबरी गोल फर्काए ।
खेलको ३४औं मिनेटमा अनिमेषले हेडमार्फत गोल गर्दा कोलकाता २–१ ले अघि बढ्यो । पहिलो हाफको इन्जुरी समयमा दोर्जे तामाङले पेनाल्टीमा गोल गर्दै खेल २–२ को अवस्थामा ल्याए ।
निर्धारित समयमा सकिन एक मिनेट बाँकी रहँदा मौसम लिम्बूले निर्णायक गोल गर्दै आयोजक मोरङलाई रोमाञ्चक जित दिलाए ।
जितसँगै आयोजक मोरङ प्रतियोगिताको क्वाटरफाइलनमा प्रवेश गरेको छ । खेलको म्यान अफ दी म्याच मोरङका मौसम लिम्बू घोषित भए । उनले नगद ११ हजार रुपैयाँ पुरस्कार प्राप्त गरे ।
प्रतियोगिता अन्तर्गत मंगलबार सुभेदा दिल्ली फुटबल क्लब र सशस्त्र प्रहरी बलको एपीएफबीच प्रतिस्पर्धा हुनेछ ।
प्रतियोगितामा २ भारतीयसहित १० वटा टोली सहभागिता छन् । प्रतियोगिताको विजेताले ११ लाख र उपविजेताले पाँच लाख रुपैयाँ नगद पुरस्कार पाउनेछन् ।
उत्कृष्ट प्रशिक्षक, गोलरक्षक र सर्वाधिक गोलकर्ताले १५–१५ हजार नगद पुरस्कार पाउनेछन् । यसैगरी, प्रतियोगिताको सर्वोकृष्ट खेलाडीले ५१ हजार रुपैयाँ प्राप्त गर्नेछ । प्रतियोगिता फागुन २८ गतेसम्म सञ्चालन हुनेछ ।
