इलाम । विभागीय टोली त्रिभुवन आर्मी इलाममा जारी अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको सेमिफाइनलमा प्रवेश गरेको छ ।
सोमबार ठूलो टुँडिखेलमा भएको तेस्रो क्वाटरफाइनल खेलमा पाहुना टोली मानेभञ्ज्याङ एफसी, दार्जिलिङ (भारत) लाई ४–० गोलको अन्तरले पछि पार्दै आर्मीले क्वाटर फाइनलको यात्रा तय गरेको हो ।
पहिलो संस्करणको विजेतासमेत रहेको मानेभञ्ज्याङ दोस्रो संस्करणमा क्वाटरफाइनलबाटै बाहिरिएको हो ।
आर्मीलाई जित दिलाउन चन्द्रा भण्डारी दुई तथा विमला चौधरी र सुमित्रा योन्जनले समान एक गोल गरे ।
खेलको पहिलो हाफको इन्जुरी समयमा विमलाले गोल गर्दै आर्मीलाई अग्रता दिलाइन् । दोस्रो हाफमा आर्मीले तीन गोल थप्यो । खेलको ५७औं मिनेटमा चन्द्राले टोलीको अग्रता दोब्बर पारिन् ।
६९औं मिनेटमा सुमित्राले टोलीका लागि तेस्रो गोल गरिन् । ७६औं मिनेटमा चन्द्राले ब्यक्तिगत दोस्रो गोल गर्दा आर्मी ४–० ले बिजयी भयो ।
खेलको प्लेयर अफ दि माच पनि चन्द्रा नै घोषित भइन् । उनले नगद ५ हजार सहित ट्रफी प्राप्त गरिन ।
प्रतियोगिता अन्तर्गत अन्तिम क्वाटरफाइनलमा मंगलबार सशस्त्र प्रहरीको एपिएफले उत्तर प्रदेश राज्यको मदर टेरेसा एफसी भारतसँग प्रतिस्पर्धा गर्नेछ ।
ओएसिस क्लब इलामको आयोजनामा अन्तर्राष्ट्रिय आमन्त्रित महिला गोल्डकपको दोस्रो संस्करण गत फागुन १७ बाट सुरु भएको हो । गोल्डकपको विजेताले नगद चार लाख र उपविजेताले दुई लाखमा रुपैयाँ प्राप्त गर्नेछ । फाइनल खेल फागुन २४ गते हुनेछ ।
