प्लानिङ ब्वाइज युनाइटेडले शहिद स्मारक ‘बी’ डिभिजन लिगमा लगातार तेश्रो जित निकाल्दै शीर्ष स्थानमा कायम रहेको छ ।
लगातार तेस्रो जित निकाल्ने क्रममा प्लानिङले बिहिवार मध्यपुर युथ एसोसिएसनलाई २-० गोलले पराजित गरेको हो ।
ललितपुरको सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा भएको खेलमा प्लानिङलाई जित दिलाउन ३० औं मिनेटमा विशाल दर्जी र ७७ औं मिनेटमा फागु राम थारुले गोल गरे ।
जितसँगै शीर्ष स्थानमा रहेको प्लानिङको ३ खेलबाट ९ अंक भएको छ । जारी लिगमा पहिलो हार व्यहोरेको मध्यपुरले ३ खेलबाट ४ अंक जोडेको छ ।
यसअघि बिहीबारको पहिलो खेलमा बीरगन्ज युनाइटेड र श्री भगवती क्लबले १-१ गोलको बराबरी खेलेका थिए ।
शुक्रबार झापा फुटबल क्लब र ब्वाइज युनियन तथा ब्रिगेड ब्वाइज र बाँसबारी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।
