बुटवल । अर्मान्ड बेएडुमको ह्याट्रिकसँगै चर्च ब्वाइज युनाइटेड क्लब २३औं तिलोत्तमा गोल्डकपको फाइनलमा प्रवेश गरेको छ ।
देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा बिहीबार सम्पन्न दोस्रो सेमिफाइनलमा चर्च ब्वाइजले लिगको प्रतिद्वन्दी मच्छिन्द्र फुटबल क्लबलाई ४-१ ले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेको हो ।
चर्च ब्वाइजको जितमा अर्मान्डले ह्याट्रिक गरे । यस्तै, कप्तान अबायोमी फाकुल्नेले एक गोल थपे । मच्छिन्द्रका एलेक्स विलियम्सले सान्त्वना गोल फर्काए ।
यो गोल केपी ओली कपको उपाधिमा ह्याट्रिक गरेको मच्छिन्द्रलाई जितका लागि पर्याप्त भएन । योसँगै चर्च ब्वाइजले कम्तीमा ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ पक्का गरेको छ ।
अब चर्च ब्वाइजले उपाधि भिड्न्तमा एपिएफलाई चुनौती प्रस्तुत गर्नेछ । एपिएफले संकटा क्लबलाई १-० ले हराउँदै यसअघि नै फाइनलको यात्रा तय गरिसकेको छ । फाइनल खेल शनिबार हुनेछ ।
खेलको ३०औं मिनेटमा चर्च ब्वाइजलाई अर्मान्डले सुरुआती अग्रता दिलाएका थिए । डिफेन्डर प्रवेश दनुवारले दिएको क्रसलाई अर्मान्डले हेडर गर्दै गोल गरेका हुन् ।
त्यसको १० मिनेटपछि मच्छिन्द्रका कप्तान करिम ओमोलाजाले अर्मान्डलाई डिबक्समा रोक्ने प्रयास गर्दा लडाउन पुगे । त्यसैमा प्राप्त पेनाल्टीलाई अर्मान्डले नै गोलमा गर्दै अग्रता दोब्बर बनाए ।
उनले ४४औं मिनेटमा ह्याट्रिक पूरा गरे । राज भुषालले उपलब्ध गराइदिएको बललाई मच्छिन्द्रका गोलकिपर टोपे रानामगरलाई बिट गर्दै गोल गरे । जारी प्रतियोगितामा यो दोस्रो ह्याट्रिक हो ।
यसअघि संकटा क्लबका सृजनराज गौतमले जर्जियन फुटबल क्लब कालिम्पोङविरुद्ध पहिलो ह्याट्रिक गरेका थिए ।
चर्चले ६०औं मिनेटमा फाकुल्नेले गोल गर्दै अग्रता ४-० मा पुऱ्याए । राजले कर्नरमार्फत दिएको बललाई उनले भलीमार्फत गोल गरे । मच्छिन्द्रले निर्धारित खेल सकिन तीन मिनेट बाँकी रहँदा एक गोल फर्काएको थियो ।
एलेक्सले मैदानको मध्यभागतर्फबाट आएको बललाई चर्च ब्वाइजका डिफेन्डरद्वय बिकु राई तथा चेतन चौधरी र गोलकिपर विवश चौधरीलाई बिट गर्दै गोल गरेका हुन् ।
खेलको ‘प्लेयर अफ द म्याच’ फाकुल्ने भए र ११ हजार १११ रुपैयाँ प्राप्त गरे ।
दोस्रो क्वार्टरफाइनलमा चर्च ब्वाइजले टाइब्रेकरमा विभागीय टोली नेपाल पुलिस क्लबलाई ४–३ ले पराजित गर्दै अन्तिम चारको यात्रा तय गरेको थियो ।
मच्छिन्द्रले भने एडोर्न गडवाल स्पोर्टिङ क्लब, देहरादुनमाथि १–० कठिन जित निकाल्दै चर्च ब्वाइजसँगको भेट पक्का गरेको थियो ।
बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।
उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।
