झापा एफसीले नेपाल सुपर लिग फुटबल २०२५ का लागि अनुभवी नाइजेरियन स्ट्राइकर अल्हाजी गेरोलाई अनुबन्ध गरेको छ ।
यूरोपियन लिगमा लामो अनुभव बोकेको गेरो स्विडेन, डेनमार्क, इरान, इन्डोनेसिया र भियतनामको शीर्ष डिभिजनमा खेलेका छन् । विशेषगरी, स्विडेनको पहिलो डिभिजनमा उनले लामो समय उत्कृष्ट प्रदर्शन गर्दै आएका थिए ।
उनले स्विडेनको प्रतिष्ठित क्लब ओस्टरसुन्ड एफकेबाट खेल्दै यूईएफए यूरोपा लिग मा समेत गोल गरेका छन् । त्यसैगरी, उनले नाइजेरियाको यू-२० राष्ट्रिय टोली साथै नाइजेरिया राष्ट्रिय टोली बाट समेत खेल्ने अवसर पाएका छन् ।
गेरोको अनुभव र व्यावसायिक खेल शैलीले नेपाली फुटबलमा नयाँ प्रेरणा र अन्तर्राष्ट्रिय स्तरको प्रतिस्पर्धात्मक भावना ल्याउने र उनको आगमनले झापा एफसी मात्र नभई समग्र नेपाली फुटबललाई पनि बलियो बनाउन योगदान दिने क्लबले विश्वास गरेको छ ।
झापाले यसअघि उज्वेकिस्तानका मुहम्मद इसाएभ र अजामात अब्दुलेभ तथा सर्वियाका लाजार अर्सिकलाई अनुबन्ध गरिसकेको छ ।
लकेन लिम्बु मार्की प्लेअर रहेको झापाले प्रवेश कटुवालाई तेस्रो संस्करणका लागि मुख्य प्रशिक्षक नियुक्त गरेको छ । झापाले डिफेण्डर छिरिङ लामालाई अक्सनअघि रिटेन गरेको थियो ।
यसैगरी अक्सनबाट झापाले क्याटेगोरी ए बाट आशिष गुरुङलाई अनुबन्ध गर्दा क्याटेगोरी बी बाट झापाले अभिनाश स्याङ्गता, दिपेश धिमाल, अन्जल श्रेष्ठ, रोशन पहारी, दिपेन्द्र विक, उज्वल राईलाई अक्सनमा अनुबन्ध गरेको थियो ।
झापाले क्याटेगोरी सी बाट सृजन दानी, आरोन थापा, श्याम मुर्मु, अभिषेक गुरुङलाई अनुबन्ध गरेको छ । झापाले विदेशी कोटाबाट प्रविन बस्नेतलाई अनुबन्ध गरिसकेको छ ।
झापाले यस पटक कोशी प्रदेशको एक्लो क्लबको रुपमा एनएसएल खेल्दैछ । पहिलो सिजन पुर्वबाट विराटनगर सिटी एफसीले एनएसएल खेलेको थियो ।
दोस्रो सिजन झापासँगै स्पोर्टिङ इलाम थपिएपनि विराटनगर सिटीले भने खेलेन । तेस्रो सिजनमा इलामले नाम फिर्ता लिएपछि झापा मात्र पूर्वको क्लबको रुपमा रहेको हो ।
