नेपाली राष्ट्रिय पुरुष फुटबल टोलीका नवनियुक्त प्रशिक्षक म्याट रसले प्रशिक्षकका रूपमा आफ्नो मुख्य उदेश्य नेपाललाई साफ च्याम्पियनसिपको उपाधि दिलाउनु भएको बताएका छन् ।

प्रशिक्षकमा नियुक्त भएपछि आयोजित अन्तरक्रिया कार्यक्रममा पत्रकारहरूसँग कुरा गर्दै उनले पहिलो लक्ष्य नेपाललाई साफ च्याम्पियनसिप जिताउने रहेको बताए ।

उनले भने, “हाम्रो लक्ष्य एसिया कप छनोटमा राम्रो प्रदर्शन गर्ने हुनेछ, तर मुख्य ध्यान साफ च्याम्पियनसिप जित्नमा हुनेछ ।” साथै, उनले नेपाल एसिया कपमा छनोट हुन नसके पनि त्यसको नजिक पुर्‍याउने लक्ष्य रहेको उल्लेख गरे ।

यस्तै, उनले धेरै नेपाली खेलाडीहरू विदेशमा खेलिरहेका विषयमा आफू जानकार रहेको बताए । उनले भने, “विदेश गएका खेलाडीहरूलाई नेपालमै खेल्न प्रेरित गर्ने वातावरण सिर्जना गर्न चाहन्छु । म एक वर्षको अवधिमा नेपाल फुटबलको विकासका लागि सक्दो प्रयास गर्नेछु ।” नेपालमा धेरै ट्यालेन्टहरू रहेको बताउँदै उनले उनीहरूलाई गुमाउन नहुने जनाए ।

नेपाली टोलीको प्रशिक्षक हुन पाउँदा खुसी र उत्साहित रहेको जनाउँदै उनले नेपालमा फुटबलको अविश्वसनीय क्रेज देखेको र धेरैभन्दा धेरै सफलताको प्रयास गर्ने बताए । ‘नेपालमा फुटबल क्रेज अविश्वसनीय रहेको पाए । टोलीलाई धेरैभन्दा धेरै सफलता दिलाएर समर्थक खुसी पार्न चाहन्छु,’ रसले भने ।

रोसले एन्फासँग एक वर्षको सम्झौता गरेका छन् । उनले अट्याकिङ फुटबलको फिलोसोफीअनुसार खेल्ने संकेत गरेका छन् । बल कन्ट्रोलदेखि ट्रान्जिसनमा केही सुधार गर्नुपर्ने जनाउँदै उनले हाइ इन्टेन्सिटी खेल खेल्न जरुरी रहेको बताए ।

गत मंसिरमा भिन्सेन्जो अल्बर्टो एनेस को सम्झौता सकिएपछि नेपाली राष्ट्रिय पुरुष टोली प्रमुख प्रशिक्षकविहीन भएको थियो । एनेसको सम्झौता नवीकरण नगरेको एन्फाले गत मंसिरमा सम्पन्न ताजकिस्तान र अफगानिस्तानसँगको त्रिदेशीय कपमा नवीन न्यौपानेलाई अन्तरिम प्रशिक्षकको जिम्मेवारी दिएको थियो ।

अस्ट्रेलियन नागरिक रस ‘युइएफए प्रो लाइसेन्स’ मान्यताप्राप्त प्रशिक्षक हुन् । रससँग दक्षिण कोरिया राष्ट्रिय महिला टोलीको जिम्मेवारी सम्हालेको अनुभव छ । उनी २०२० देखि २०२३ सम्म कोरियाको मुख्य प्रशिक्षक थिए । त्यस्तै रससँग स्विडिश महिला शीर्ष डिभिजन क्लब भिन्सो जियाकेलाई प्रशिक्षण दिएको अनुभव पनि छ ।

रसले स्पेनका युयान्डे रामोस, स्पेनकै युलियन गुइएरो, फ्रान्सका रेने लोबेलो र इङ्ल्यान्डका जेमी डेलाई पछि पार्दै नेपाली राष्ट्रिय टोलीको जिम्मेवारी पाएका हुन् ।

एन्फाले नयाँ प्रशिक्षक नियुक्त गर्न विश्वभरबाट ४१६ जनाको आवेदन प्राप्त गरेको थियो । त्यसपछि एन्फाको छनोट समितिले २० जनाको सूची तयार पार्यो, जसबाट अन्तिम पाँच जना प्रतिस्पर्धी छनोट गरियो । तिनै पाँचबाट रसलाई नियुक्त गरिएको हो ।

अब नेपाली राष्ट्रिय पुरुष टोलीले उनकै प्रशिक्षणमा मलेसियाविरुद्ध खेल्नेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *