मछिन्द्र फुटबल क्लबले केपी ओली कप फुटबल च्याम्पियनसिपको उपाधिमा ह्याट्रिक गरेको छ ।
त्रिपुरेश्वरस्थित दरशरथ रंगशालामा सोमबार भएको प्रतियोगिताको तेश्रो संस्करणको फाइनलमा विभागीय टोली त्रिभुवन आर्मी फुटबल क्लबलाई २-० ले पराजित गर्दै मच्छिन्द्रले उपाधिमा ह्याट्रिक गरेको हो ।
मछिन्द्रलाई जित दिलाउन स्टेफन जालीले गोल गर्दा एक गोल आत्मघाती उपहार प्राप्त भएको हो ।
खेलको २९औं मिनेटमा आर्मीका रक्षक विमल पाण्डेबाट आत्मघाती गोल हुन पुग्दा मछिन्द्रले अग्रता लिएको थियो । सनिश श्रेष्ठको प्रहारलाई रोक्न खोज्दा विमलले आफ्नै पोस्टमा गोल गर्नपुगेका थिए ।
जालीले ७३औं मिनेटमा टोलीको अग्रता दोब्बर बनाए । उनले युसुफ मलिकको क्रसलाई वान टचमै पोस्टको दिशा दिए ।
त्यसपछि दुवै टाेलीबाट गाेल हुन सकेन । मछिन्द्रले आयोजक केपी ओली एफसी र आर्मीले संकटा क्लबलाई हराउँदै फाइनल यत्रा तय गरेका थिए ।
विजेता मछिन्द्रले १५ लाख ११ हजार १११ तथा उपविजेता आर्मीले ५ लाख रुपैयाँसहित ट्रफी, प्रमाण पत्र र मेडल प्राप्त गरेका छन् ।
