बार्सिलोनाले स्पेनिस ला लिगा फुटबलमा ओसासुनामाथि सहज जित निकालेको छ ।
गएराती सम्पन्न खेलमा बार्सिलोनाले ओसासुनालाई ३-० गोल अन्तरले पराजित गरेको हो । घरेलु मैदानमा बार्सिलोनालाई जित दिलाउन फेरान टोरेस, डानी ओल्मो र रोबेर्ट लेवानडोस्कीले गोल गरे ।
फेरानले ११औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई अग्रता दिलाएका थिए । त्यसको दश मिनेटपछि ओल्मोले पेनाल्टीमा गोल गर्दै बार्सिलोनाको अग्रता दोब्बर पारे ।
दोस्रो हाफमा बार्सिलोनाले एक गोल थप्यो । लेवान्डोस्कीले ७७औं मिनेटमा गोल गर्दै बार्सिलोनालाई ३-० को सहज जित दिलाए ।
यो जितपछि बार्सिलोनाले आफ्नो अग्रता बढाएको छ । बार्सिलोनाको २८ खेलमा ६३ अंक रहेको छ र लिगमा शिर्ष स्थानमा रहेको छ । त्यस्तै रियल म्याड्रिडको २८ खेलमा ६० अंक रहेको छ र बार्सिलोना भन्दा ३ अंकले पछाडी रहेको छ ।
त्यसैगरी ओसासुनाको २८ खेलमा ३३ अंक रहेको छ र लिगमा १४ औं स्थानमा रहेको छ ।
