चितवन । एपिएफ एफसीले चितवनमा राष्ट्रिय महिला फुटबल प्रतियोगिताको उपाधि जितेको छ ।
भरतपुरको कृष्णपुरको मैदानमा भएको फाइनल खेलमा त्रिभुवन आर्मी फुटबल क्लबलाई टाइब्रेकरमा ४-२ ले हराउँदै एपिएफ च्याम्पियन बनेको हो ।
निर्धारित ८० मिनेटको खेल १-१ को बराबरीमा टुंगिएपछि खेलको निर्णय टाइब्रेकरमा गरिएको थियो ।
यसअघि निर्धारित समयको खेलमा अग्रता भने आर्मीले लिएको थियो । १३औं मिनेटमा बिमला चौधरीको गोलमार्फत आर्मीले अग्रता लिएको थियो ।
अन्तिम ६ मिनेट सम्हालिन नसक्दा आर्मी स्तब्ध भयो । ७५औं मिनेटमा एपिएफकी रश्मि घिसिङले सुन्दर हेडर गोल गरेकी थिइन् ।
फाइनल खेलको प्लेयर अफ दि म्याच एपिएफकी प्रिती राई घोषित भइन् । उनले १० हजार रुपैयाँ प्राप्त गरिन् ।
उपाधिसँगै एपिएफले ट्रफीसहित ३ लाख रुपैयाँ प्राप्त गरेको छ । उपविजेता आर्मीले १ लाख ५० हजार रुपैयाँमा चित्त बुझाएको छ । एपिएफले यो वर्ष लिगसहित ३ वटा उपाधि जित्न सफल भएको छ ।
एन्फा महिला लिगको फाइनलमा नेपाल पुलिस क्लबलाई हराएको एपिएफले दुई वटा नकआउट फुटबल प्रतियोगिताको फाइनलमा आर्मीलाई पराजित गर्यो । फागुन २४ गते इलाममा भएको महिला गोल्डकपको फाइनलमा पनि आर्मी एपिएफसँग पराजित भएको थियो ।
चितवनमा सम्पन्न प्रतियोगिताको सर्वोत्कृष्ट खेलाडी आर्मीकी चन्द्रा भण्डारी भइन् । उनले नगद ४० हजार रुपैयाँ प्राप्त गरिन् ।
त्यस्तै, उत्कृष्ट गोलरक्षक एपिएफकी सावित्री किसन , डिफेन्डर आर्मीकी बिमला बिक, मिडफिल्डर एपिएफकै रेनुका नगरकोटे, सर्वाधिक गोलकर्ता ८ गोल गरेकी एपिएफकी रश्मि कुमारी घिसिङ र उत्कृष्ट प्रशिक्षक एपिएफका जिबेश पाण्डे घोषित भए । उनीहरुले जनही २० हजार रुपैयाँसहित ट्रफी, मेडल, र प्रमाणपत्र प्राप्त गरे ।
चितवन जिल्ला फुटबल संघको आयोजना तथा भरतपुर महानगरपालिकालो प्रवर्द्धनमा सम्पन्न प्रतियोगितामा ८ टोलीको सहभागीता रहेको थियो ।
