कालाबन्जर (सुनसरी ) । आठौं अन्तर्राष्ट्रिय आमन्त्रित भरौल गोल्डकप फुटबल प्रतियोगिताको उपाधि द योङ ब्रदर्श क्लब इटहरीले जितेको छ ।
शनिबार भएको फाइनल खेलमा नेपाल पुलिस क्लब काठमाडौंलाई टाइब्रेकरमा ३-१ गोलअन्तरले पराजित गर्दै योङ ब्रदर्शले उपाधि उचालेको हो ।
वराहक्षेत्र-५ कालाबन्जरस्थित श्री भरौल जडेज खेल मैदानमा भएको खेलको निर्धारित समय गोलरहित बराबरीमा सकिएपछि खेलको निर्णय टाइब्रेकरबाट लिइएको थियो ।
खेलको म्यान अफ द म्याच योङ ब्रदर्शका मौसम लिम्बू घोषित भए । उनले ट्रफीसहित नगद ५ हजार रुपैयाँ प्राप्त गरे ।
उपाधिसँगै योङ ब्रदर्शले ४ लाख रुपैयाँसहित ट्रफी, मेडल, प्रमाणपत्र तथा उपविजेता पुलिसले २ लाख रुपैयाँसहित ट्रफी, मेडल र प्रमाणपत्र प्राप्त गरेको छ ।
प्रतियोगिताका सर्वोकृष्ट खेलाडी योङ ब्रदर्सका प्रवेश दनुवार घोषित भए । उनले नगद २५ हजार रुपैयाँसहित ट्रफी प्राप्त गरे ।
त्यस्तै, प्रतियोगिताको उत्कृष्ट गोलकिपर योङ ब्रदर्सकै विश्वास चौधरी, डिफेन्डर पनि योङ ब्रदर्सकै सबिन घिमिरे, मिडफिल्डर पुलिसका प्रवीण थापा, उत्कृष्ट स्ट्राइकर पुलिसकै विवेक पाण्डे र उत्कृष्ट प्रशिक्षक योङ ब्रदर्शका विमल मगर घोषित भए । उनीहरुले जनही नगद १० हजार रुपैयाँसहित ट्रफी, मेडल, चेक र नगद प्राप्त गरे ।
न्यु स्टार क्लब, वराहक्षेत्र-५, सुनसरीको आयोजनामा सम्पन्न प्रतियोगितामा कुल आठ टोली सहभागीता रहेको थियो ।
