बुटवल । विभागीय टोली एपीएफ क्लब रुपन्देहीकै पुरानो र प्रतिष्ठित तिलोत्तमा गोल्डकपको सेमिफाइनलमा स्थान बनाएको छ ।

देविनगरस्थित एन्फा टेक्निकल खेलमैदानमा आइतबार सम्पन्न खेलमा एपीएफले आयोजक करेन्ट रुपन्देही-११ लाई १-० ले पराजित गरेको हो । अब एपीएफले फाइनल प्रवेश गर्न संकटा र जर्जियन एफसीबीचको विजेतासँग खेल्ने छ । यी दुईको खेल सोमबार हुनेछ ।

एपीएफ र रुपेन्देहीबीचको खेल शनिबार नै सकिने तय थियो । तर, खराब मौसमका कारण ६५ मिनेटपछिको खेल आज खेलाइएको हो । तर, एपिएफलाई अन्तिम चारमा पुर्याउन हरि कार्कीले पहिलो हाफमा गरेको गोल नै निर्णायक बन्यो । उनले खेलको १८औं मिनेटमा गोल गरेका थिए ।

युवराज खड्‌काले पेनाल्टी बक्सबाहिरबाट गरेको प्रहार रुपन्देहीका ड्यानियल सेगुन सिमोन्डले ‘चेस्टिङ’ गर्दै बचाएका थिए । तर, राम्रोसँग बल क्लियर हुन नसक्दा राइट ब्याक जीवन गुरुङतर्फ पुगेको थियो । उनले पनि राम्रोसँग क्लियर गर्न सक्दा हरिले सेकेन्ड बारको टप कर्नरमा गोल गरेका हुन् ।

खेलको ‘म्यान अफ द म्याच’ भने एपिएफका गोलकिपर विशाल गुरुङ घोषित भए। उनले नगद ११ हजार १११ रुपैयाँ प्राप्त गरे । आइतबार अर्को खेलमा ‘ए’ डिभिजन लिग विजेता चर्च ब्वाइज र विभागीय टोली नेपाल पुलिस क्लब भिड्दै छन् । यो खेल दिउँसो ४ बजे सुरु हुनेछ ।

बुटवल उपमहानगरपालिकाको संरक्षक तथा यशोदा फुड्स प्रालि र त्रिमुर्ति इण्डस्ट्रिज प्रालिको मुख्य प्रायोजक, प्रदेश खेलकुद परिषद् लुम्बिनी मुख्य सहयोगी संस्था रहेको प्रतियोगिताको २३ औं संस्करणको विजेताले नगद १२ लाख १२ हजार २२२ रुपैयाँ प्राप्त गर्नेछन् ।

उपविजेता टिमले ६ लाख, ६६ हजार, ६६६ रुपैयाँ तथा विधागत उत्कृष्ट खेलाडीहरुलाई गोलरक्षक, डिफेन्डर, मिडफिल्डर, फरवार्ड, प्रशिक्षकलाई नगद ३१ हजार र कप तथा सर्वोत्कृष्ट खेलाडीलाई स्कुटर वा मोटरसाइकल उपहार तथा प्रत्येक दिनको ‘म्यान अफ दी म्याच’ लाई नगद ११ हजार १११ रुपैयाँबाट पुरस्कृत गरिने छ ।

यो संस्करणमा आयोजक करेन्ट रुपन्देही-११ सहित संकटा एफसी, मच्छिन्द्र एफसी, चर्च ब्वाइज युनाइटेड, नेपाल पुलिस क्लब, नेपाल सशस्त्र प्रहरी बलको एपिएफ क्लब तथा दुई विदेशी टिमहरु एडोर्न गडवाल स्पोर्टिङ क्लब, जर्जियन एफसी गरि आठ टिमको प्रतिस्पर्धा गर्नेछन् । प्रतियोगिता चैत १६ गतेसम्म सञ्चालन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *