इङ्लिस प्रिमियर लिगमा म्यानचेस्टर युनाइटेड इप्स्विच टाउनमाथि पुनरागमन जित निकालेको छ ।
बुधबार राति भएको खेलमा १० खेलाडीमा सिमित युनाइटेडले इप्स्विचमाथि ३-२ को पुनरागमन जित निकालेको हो ।
घरेलु मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन माथिस डी लाइट र ह्यारी माग्युएरले समान एक गोल गर्दा एक गोल उपहार पाएको थियो । इप्स्वीचका लागि जाडेन फिलोजिनले दुवै गोल गरे ।
खेलको चौथो मिनेटमा फिलोजिनले गोल गर्दै इप्स्विचलाई अग्रता दिलाएका थिए । २२औं मिनेटमा साम मोर्सीबाट आत्मघाती गोल भएपछि खेल १-१ को बराबरीमा आयो ।
२६औं मिनेटमा डी लाइट गोल गर्दै युनाइटेडलाई अग्रतामा ल्याए भने पहिलो हाफको इन्जुरी समयमा फिलोजिनले दोस्रो गोल गर्दै पुनः खेल बराबरीमा ल्याए ।
त्यसअघि खेलको ४३औं मिनेटमा प्याट्रिक डोर्गुले रातो कार्ड पाएपछि युनाइटेड १० खेलाडीमा सिमित भएको थियो ।
दोस्रो हाफको सुरुवातमै ४७औं मिनेटमा ब्रुनो फर्नान्डेसको कर्नरमा माग्युएरले हेडिङ गोल गर्दै युनाइटेडलाई फेरि अग्रता दिलाए । त्यसपछि थप गोल हुन नसक्दा युनाइटेड ३-२ ले विजयी भयो ।
जितसँगै युनाइटेड २७ खेलमा ३३ अंक जोडेर १४औं स्थानमा रहेको छ । पराजित इप्स्विच समान खेलबाट १७ अंकका साथ रेलिगेशन क्षेत्रमा छ ।
