खोटाङ । खोटाङको साकेला गाउँपालिकाले आयोजना गरेको अन्तर-माध्यमिक विद्यालय स्तरीय सातौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिताको उपाधि राधाकृष्ण माध्यमिक विद्यालय, बाँझेच्यानडाँडाले जितेको छ।

प्रतियोगितामा सहभागी छ वटा माध्यमिक विद्यालयमध्ये राधाकृष्ण माविले ८ स्वर्ण, ८ रजत, र ५ काँस्य पदक सहित पहिलो स्थान हासिल गरेको हो ।

साकेला गाउँपालिका-२, रतन्छामा सञ्चालित साकेला माध्यमिक विद्यालयले ८ स्वर्ण, ७ रजत, र ४ काँस्य पदक सहित दोस्रो स्थान हासिल गर्यो भने बालबालिका माध्यमिक विद्यालय, मात्तिम नौलाखर्कले ५ स्वर्ण, ६ रजत, र ७ काँस्य पदकसहित तेस्रो स्थान हासिल गर्यो ।

राधाकृष्ण माविको व्यवस्थापनमा माघ १६ गतेदेखि १९ गतेसम्म सञ्चालन भएको प्रतियोगितामा सरस्वती मावि, मात्तिमबिर्ताले ३ स्वर्ण, १ रजत, र ३ काँस्य पदक सहित चौथो स्थान हासिल गर्यो । सिद्धेश्वरी मावि, खिदिमाले २ स्वर्ण, ५ रजत, र ४ काँस्य पदक जितेर पाँचौं स्थान हासिल गर्यो भने प्रतियोगितामा पहिलोपटक सहभागिता जनाएको चण्डेश्वरी मावि, डाँडागाउँले १ काँस्य पदक सहित छैठौँ स्थानमा चित्त बुझायो ।

प्रतियोगिताको समापन समारोहमा गाउँपालिका अध्यक्ष रवि प्रकाश राई, वडा नम्बर १ का अध्यक्ष हेमन राई, र शिक्षा युवा तथा खेलकुद शाखा संयोजक कविराज राईले विजयी विद्यालयहरूलाई शिल्ड, मेडल, र प्रमाणपत्र वितरण गरेका थिए। साथै, प्रथम, द्वितीय, र तृतीय स्थान प्राप्त विद्यालयलाई विशेष सम्मानसमेत प्रदान गरिएको थियो ।

गाउँपालिका अध्यक्ष राईले खेलकुद प्रतिभा विकासका लागि यस्ता कार्यक्रमलाई निरन्तरता दिने प्रतिबद्धता व्यक्त गर्दै स्थानीय खेलाडीहरूलाई राष्ट्रिय तथा अन्तर्राष्ट्रिय स्तरमा अघि बढाउने लक्ष्य रहेको बताए । उनले खेलकुद क्षेत्रले गाउँपालिकाको समग्र विकासमा महत्त्वपूर्ण योगदान दिने उल्लेख गर्दै खेलाडीहरूलाई आफ्नो विद्यालयको मात्र नभई गाउँपालिकाको प्रतिष्ठा बढाउने गरी उत्कृष्ट प्रदर्शन गर्न आग्रह गरे ।

प्रतियोगितामा भलिबल, हाईजम्प, लङजम्प, सटफुट, ज्याभलिन थ्रो, १०० मिटर दौड, २०० मिटर दौड, ४०० मिटर दौड, ८०० मिटर दौड, १५०० मिटर दौड, १०० मिटर रिले दौड, र ४०० मिटर रिले दौड गरी २६ स्वर्ण पदकका लागि प्रतिस्पर्धा भएको थियो ।

प्रतियोगिता सञ्चालनका लागि संघीय सरकारअन्तर्गत खेलकुद मन्त्रालयले एक लाख रुपैयाँ अनुदान उपलब्ध गराएको थियो भने अपुग रकम गाउँपालिकाले व्यवस्थापन गरेको थियो । प्रतियोगितामा स्वर्ण पदक जित्ने खेलाडीहरूले जिल्लास्तरीय राष्ट्रपति रनिङ शिल्ड प्रतियोगितामा सहभागिता जनाउनेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *