कटारी । सुनसरीको एनएसएफ क्लब धरानलाई पराजित गर्दै च्याम्पिएन ब्वाईज क्लब, काठमाडौं उदयपुरको कटारीमा जारी पाँचौं कटारी मेयर गोल्डकप फुटबल प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ ।

बुधबार कटारी टाईगर मैदानमा भएको पहिलो सेमिफाइनल खेलमा धरानलाई ४-२ गोलले पराजित गर्दै च्याम्पिएन ब्वाईज उपाधि नजिक पुगेको हो ।

च्याम्पिएनको जितमा सुरज राउतले ह्याट्रिक पूरा गर्दा सन्तोष न्यौपानेले एक गोल गरे । धरानका लागि तपन कार्की दुई गोल गरे ।

खेल सुरु भएको १३औं मिनटमै तपनले गोल गर्दै धरानलाई अग्रता दिलाएका थिए । तर, ३०औं मिनेटमा च्याम्पिएनका लागि सुरजले जवाफी गोल फर्काएर खेललाई १-१ बराबरीमा ल्याए ।

खेलको ३४औं मिनेटमा सुरजले ब्यक्तिगत दोस्रो गोल गर्दा च्याम्पिएन २-१ ले अघि बढ्यो । तर, ४५औं मिनेटमा धरानका तपनले ब्यक्तिगत दोस्रो गोल गर्दै खेललाई २-२ को बराबरीमा ल्याए ।

७७औं मिनेटमा सन्तोषले गोल गरेपछि च्याम्पिएनले ३-२ को अग्रता बनायो । त्यसपछि ८४औं मिनेटमा सुरजले ह्याट्रिक पूरा गर्दा च्याम्पिएन ४-२ ले विजयी भयो ।

प्रतियोगिता अन्तर्गत बिहीबार हुने अन्तिम सेमिफाइनलमा सिराहाको सहलेश फुटबल क्लब र वीरगञ्जको युनाईटेड फुटबल क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

कटारी नगरपालिकाको आर्थिक सहयोगमा कटारी नगर खेलकुद विकास समितिद्वारा आयोजित शनिबारदेखि जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद तीन लाख हात पार्ने छ भने उपविजेताले एक लाख ५० हजार प्राप्त गर्नेछ ।

आठ टिमको सहभागिता रहेको प्रतियोगिताको फाइनल खेल यही फागुन १७ गते हुने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *