कर्णालीको विजयी सुरुआत

२०८१, ७ फाल्गुन बुधबार १९:३६

धनगढी । आयोजक गौरीगंगा ११ लाई पराजित गर्दै कर्णाली प्रदेश फुटबल एसोसिएसनले जय पृथ्वीबहादुर सिंह गौरीगंगा फुटबल प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

धनगढीको कैलालीस्थित गौरीगंगा ११ स्पोर्ट्स क्लबमा बुधबार सम्पन्न खेलमा कर्णालीले ३-१ को जित निकालेको हो ।

कर्णालीको जितमा विवेक बिसी, नवीन ओली र गणेश पुलामीले १/१ गोल गरे । गौरीगंगाका सुदीप सुनारले गरेको गोल सान्त्वना रह्यो । योसँगै कर्णाली सेमिफाइनलमा प्रवेश गरेको छ। गौरीगंगा भने पहिलो खेलबाटै बाहिरिएको छ ।

खेलमा सुरुआती अग्रता भने गौरीगंगाले लिएको थियो । सुदीपले गोल गर्दै घरेलु टोलीलाई अग्रता दिलाएका थिए । तर, उक्त अग्रता कायम राख्न सकेन ।

दोस्रो हाफमा कर्णालीले सुधारिएको प्रदर्शन गर्दै खेलमा पुनरागमन गर्न सफल भयो । ६३औं मिनेटमा विवेकले गोल गर्दै खेल १-१ को बराबरीमा ल्याए । त्यसपछि भने गौरीगंगा खेलमा सम्हालिन सकेन । नवीनले ७७औं मिनेटमा गोल गर्दै कर्णालीलाई २-१ को अग्रता दिलाए । दोस्रो हाफको इन्जुरीको समयको दोस्रो मिनेटमा गणेशले अर्को गोल थप्दै कर्णालीलाई अन्तिम चारमा पुऱ्याए ।

कर्णालीले फाइनल प्रवेश गर्न अब मधेश प्रदेशको नव जागृती युवा क्लब र सुदूरपश्चिम फुटबल एसोसिएसनबीचको विजेतासँग खेल्नेछ । यी दुईबीचको खेल बिहीबार हुनेछ ।

खेलको म्यान अफ द म्याच कर्णालीका नवीन रहे । प्रतियोगितामा आयोजक गौरीगंगा ११ र कर्णालीसँगै आठ टोली सहभागी छन् । यी टोलीलाई दुई समूहमा विभाजन गरिएको छ । समूह ‘ए’ मा गौरीगंगा ११ र कर्णालीसँगै नव जागृती र सुदूरपश्चिम छन् ।

अर्को समूहमा गण्डकी प्रदेशको चोरमारा युथ क्लब, बागमती प्रदेशको लक्की स्टार क्लब, कोशी प्रदेशको गाईघाट फुटबल क्लब र लुम्बिनी प्रदेशको राइजिङ स्टार फुटबल क्लब छन् । प्रतियोगितामा हरेक क्लबले पहिलो जितपश्चात् सिधैं सेमिफाइनलमा स्थान बनाउने छन् । पहिलो सेमिफाइनल फागुन ११ र दोस्रो सेमिफाइनल फागुन १२ गते हुनेछ ।

फाइनल भने फागुन १४ गते रहेको आयोजकले जनाएको छ। प्रतियोगिताको विजेताले पाँच लाख र उपविजेताले साढे दुई लाख पाउने छन् । उत्कृष्ट खेलाडीले एक लाख रुपैयाँ पाउने छन् । सर्वाधिक गोलकर्ता, उत्कृष्ट गोलकिपर, उत्कृष्ट डिफेन्डर, उत्कृष्ट फरवार्ड र उदीयमान खेलाडीले जनही १५ हजार रुपैयाँ प्राप्त गर्नेछन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *