मकवानपुर । विभागीय टोली एपिएफ फुटबल क्लब मकवानपुरमा जारी सातौं बागमती गोल्डकप नकआउट फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।

बुधबार बागमती-४ स्थित सहिद स्मृति रंगशालामा भएको तेस्रो क्वाटरफाइनल खेलमा संकटा फुटबल क्लबलाई १-० ले हराउँदै एपीएफ प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको हो ।

खेलको ८३औं मिनेटमा वैकल्पिक खेलाडीका रुपमा मैदान प्रवेश गरेका सुजन कुमार पुलामीले एक मात्र निर्णायक गोल गरे । खेलको म्यान अफ दि म्याच एपीएफका मनि लामा चुनिए । उनले नगद १० हजार रुपैयाँ प्राप्त गरे 

प्रतियोगिता अन्तर्गत बिहीबार हुने चौथो तथा अन्तिम क्वाटरफाइनल खेल मच्छिन्द्र फुटबल क्लब र बागमती युवा क्लबबीच हुने आयोजकले जानकारी दियो ।

बागमती गाउँपालिका खेलकुद विकास समिति, झुरझुरे, मकवानपुरको आयोजनामा जारी प्रतियोगिताको विजेताले उपाधिसहित नगद १० लाख हात पार्नेछ भने उपविजेताले ५ लाख प्राप्त गर्नेछ ।

यस्तै प्रतियोगिताको सर्वोत्कृट खेलाडीलाई १ लाख १ हजार तथा विधागत उत्कृष्ट खेलाडीलाई जनही २५ हजार प्रदान गरिने आयोजकले जनाएको छ । फाइनल खेल फागुन १२ गतेका दिन हुनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *