नेपाली राष्ट्रिय महिला फुटबल टोलीकी स्टार फरवार्ड सावित्रा भण्डारी साम्बा प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार–२०८१ बाट सम्मानित हुने भएकी छन् ।
सरकारले विभिन्न क्षेत्रमा उल्लेखनीय योगदान पुर्याउने प्रतिभाशाली नागरिकलाई प्रदान गर्ने पुरस्कार अन्तर्गत विभिन्न विधाका १० जना पुरस्कृत हुँदा खेलकुदबाट साम्बा पुरस्कृत हुने भएकी हुन् ।
राष्ट्रिय प्रजातन्त्र दिवस २०८१ का अवसरमा आज सैनिकमञ्च टुँडिखेलमा आयोजित मूल समारोहमा पुरस्कारको घोषणा गरिएको हो । सरकारले एक विशेष कार्यक्रम गर्दै पुरस्कार प्रदान गरिने जनाएको छ।
नेपाल एपीएफ फुटबल क्लबमा आवद्ध साम्बा हाल फ्रान्सको एन अभान्ट गुएङग्याम्पमा आवद्ध छिन् । नेपालबाट युरोपियन लिग खेल्ने साम्बा पहिलो महिला खेलाडी हुन् ।
सन् २०१४ देखि राष्ट्रिय टोलीमा आवद्ध साम्बा नेपालका लागि सर्वाधिक गोल गर्ने खेलाडी हुन् ।
विस. २०७६ सालमा घरेलु मैदानमा भएको १३ औं दक्षिण एसियाली खेलकुदमा साम्बाले अनु लामाको नाममा रहेको ३५ गोलको कीर्तिमान तोडेकी थिइन् । उनी नेपालकी मात्र हैन दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको शीर्ष स्थानमा छिन् ।
गत वर्षको फागुनमा साउदीमा भएको वाफ महिला च्याम्पियनसिपमा लेबनानविरुद्ध नै गोल गर्दै साम्बाले भारतीय टोलीकी बालादेवीलाई पछि पार्दै दक्षिण एसियाकै सर्वाधिक गोलकर्ताको सुचीमा आफूलाई उभ्याएकी थिइन् ।
