काठमाडौं । महिलाहरूको स्वास्थ्य एवं फिटनेसमा सचेतना जगाउने उद्देश्यले यही चैत ९ गते ‘काठमाडौं पिंक केयरएथन’ हुने भएको छ ।

लेजर पोर्ट नेपालले यो कार्यक्रम गर्न लागेको हो । काठमाडौं पिंक केयरएथनमा महिलाहरूको दौड, जुम्बालगायतका विभिन्न कार्यक्रम आयोजना हुनेछ ।

जुनसुकै उमेर समूहका महिलाहरूले सहभागिता जनाउन सक्ने यो इभेन्टको मुख्य उद्देश्य सधैं घरायसी काम र दैनिकीमा व्यस्त रहने महिलाहरूलाई आफ्नो स्वास्थ्यको लागि पनि समय निकाल्न प्रेरित गर्नु रहेको आयोजक संस्था लेजर पोर्ट नेपालका अध्यक्ष नमराज जोशीले बताए ।

आयोजकले आज राजधानीमा आयोजना गरेको पत्रकार सम्मेलनमा दिएको जानकारी अनुसार पिंक केयरएथनमा यसपटक पच्चिस सयदेखि तिन हजार महिलाहरू सहभागी हुने अपेक्षा गरिएको छ ।

कलाकार उषा रजकलाई काठमाडौं पिंक केयरएथनको गुडविल एम्वासडेटर घोषणा गरिएको छ। यसअघि काठमाडौँ पिंकाथनको नाममा हुने गरेको यो कार्यक्रम यसपटक अझ नेपालीपन झल्किने गरी काठमाडौं पिंक केयरएथन नाममा आयोजना गर्न लागिएको हो ।

लेजर पोर्टले सन् २०१७ देखि २०१९ सम्म तिन वर्ष काठमाडौँ पिंकाथन आयोजना गरेको थियो । यो वर्ष पनि भव्यरुपले कार्यक्रम आयोजना हुने आयोजक संस्थाको दाबी रहेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *