ललितपुर । दशौँ राष्ट्रिय बृहत खेलकुदका लागि बागमती प्रदेश खेलकुद विकास परिषद्ले बुद्धिचाल विधातर्फ बुधबार र्‍यापिड तथा प्लिज खेलको छनोट सम्पन्न गरेको छ ।

राष्ट्रिय खेलकुद परिषद्ले क्लासिकल, र्‍यापिड तथा ब्लिट्ज विधामा दुई पुरुष दुई महिला छनोट गर्ने प्रावधान बनाए अनुरुप बागमती प्रदेश खेलकुद विकास परिषदले १२ जना खेलाडी छनौट गरेका छन् ।

बौद्धिक बुद्धिचाल खेल प्रतिस्पर्धाबाट पुरुष तर्फ क्लासिकल विधामा ललितपुरका कमल श्रेष्ठ र सुरोज महर्जन, र्‍यापिडतर्फ चितवनका सत्यम शर्मा र दोलखाका राजिव कार्की, ब्लिट्ज तर्फ काठमाडौँका सीएम नवीन तण्डुकार काभ्रेका शैलेन्द्र न्यौपाने छनोट हुन सफल रहे ।

यसैगरी महिला विधातर्फ क्लासिकलमा ग्लोसी र नेलिसा ओझा, र्‍यापिड तर्फ चितवनका लक्ष्मी कँडेल र दिपाञ्जली नगरकोटी, ब्लिट्ज तर्फ ओजस्वी श्रेष्ठ र परिधि खत्री छनोट हुन सफल भएका छन् ।

बागमती प्रदेश र्‍यापिड बुद्धिचाल छनोटमा चितवनका सत्यम शर्मा प्रथम भएका छन् । नेपाल चेस एसोसिएसनले सार्वजनिक गरेको सात चरणको अन्तिम नतिजाअनुसार शर्माले ६ अंक हासिल गर्दै उपाधि जितेका हुन् ।

त्यसैगरी दोलखाका राजीव कार्की ५.५ अंकसहित दोस्रो भए भने नुवाकोटका सुरेन्द्र लामा समान ५.५ अंक प्राप्त गर्दै टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे ।

महिलातर्फ चितवनकी लक्ष्मी कँडेल ५ अङ्क जोडेर प्रथम भएकी छिन् । काठमाडौंका दीपाञ्जली नगरकोटी ४.५ अंक जोड्दै द्वितीय बने भने रामेछापका ओजस्वी श्रेष्ठ ४ अंक तृतीय पनि भइन् ।

यसैगरी सम्पन्न ब्लिट्ज विधाको पुरुषतर्फ नवीन तण्डुकार प्रथम भएका छन् । ६ अंक हासिल गर्दै तण्डुकारले उपाधि जितेका हुन् । काभ्रेका शैलेन्द्र न्यौपाने ५.५ अंकसहित दोस्रो भए भने काठमाडौंका मोहम्मद इमरान खान ५ अंक प्राप्त गर्दै टाइब्रेकका आधारमा तेस्रो स्थानमा रहे ।

प्रतियोगितामा ब्लिट्ज विधाको महिलातर्फ ओजस्वी श्रेष्ठ प्रथम भएकी छन् । सात चरणको खेलमा ६.५ अंक हासिल गर्दै श्रेष्ठले उपाधि जितेकी हुन् । काठमाडौंकी परिधि खत्री ६ अंकसहित दोस्रो स्थानमा रहिन् भने ललितपुरकी सुवेच्छा घिमिरे ४.५ अंक प्राप्त गर्दै तेस्रो भइन् ।

लगत्तै विजयी एवं छनौट हुन सफल खेलाडीहरूलाई नेपाल बुद्धिचाल महासंघका प्रवक्ता एवं प्राविधिक संयोजक राजु ताम्राकारले मेडल तथा प्रमाणपत्र वितरण गरेका छन् । ताम्राकारले दशौं राष्ट्रिय खेलकुदमा बागमती प्रदेशका खेलाडीहरूले पदक प्राप्त गर्ने विश्वास लिएका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *