पौडीमा एनआरएनएको बलियो पकड  

२०८३, १० मंसिर बुधबार २२:१३

दसौं राष्ट्रिय खेलकुद–२०८३ अन्तर्गत जारी २३ औं राष्ट्रिय पौडी च्याम्पियनसिपमा गैरआवासीय नेपाली संघ (एनआरएनए) ले उत्कृष्ट प्रदर्शन गर्दै पदक तालिकाको दोस्रो स्थानमा बलियो पकड जमाएको छ ।

बुधबार साँझसम्म सार्वजनिक नतिजाअनुसार एनआरएनएले ६ स्वर्ण, १ रजत र २ कांस्य गरी कुल ९ पदक जितेको छ । कुल पदक संख्यामा विभागीय टोलीहरू नेपाल पुलिस क्लब (१८ पदक) र नेपाल आर्मी क्लब (१८ पदक) अगाडि रहे पनि स्वर्ण पदकका आधारमा एनआरएनए दोस्रो स्थानमा रहेको हो । तालिकाको शीर्ष स्थानमा रहेको बागमती प्रदेशले ९ स्वर्ण, ४ रजत र ६ कांस्यसहित १९ पदक जितेको छ ।

च्याम्पियनसिपमा एनआरएनएका महिला खेलाडीहरूले विशेष वर्चस्व कायम गरेका छन् । १५ वर्षीया पौडीबाज लिली बोहराले महिला ८०० मिटर फ्रिस्टाइलमा नयाँ राष्ट्रिय कीर्तिमानसहित स्वर्ण पदक जितिन् । उनले निर्धारित दूरी ९ मिनेट ३४.०६ सेकेन्डमा पूरा गर्दै सन् २०२५ मा डुआना लामाले बनाएको १० मिनेट ०६.९२ सेकेन्डको कीर्तिमान भंग गरेकी हुन् । यस स्पर्धामा आर्मीकी डुआना लामाले ९ मिनेट ५९.५३ सेकेन्डको समय निकाल्दै रजत जितिन् ।

लिलीले महिला २०० मिटर फ्रिस्टाइलमा पनि २ मिनेट १४.०३ सेकेन्डको समय निकाल्दै एनआरएनएलाई अर्को स्वर्ण दिलाइन् । सोही स्पर्धामा एनआरएनएकै मिखा काया थापाले २ मिनेट १९.६८ सेकेन्डका साथ कांस्य पदक हात पारिन् ।

त्यसैगरी, एनआरएनएकी १६ वर्षीया मिखा काया थापाले महिला ५० मिटर बटरफ्लाईमा ३०.७८ सेकेन्डको समय निकाल्दै स्वर्ण पदक जित्न सफल भइन् । उनले महिला १०० मिटर ब्याकस्ट्रोकमा पनि १ मिनेट १३.६२ सेकेन्डको समयसहित रजत पदक जितिन् । उक्त स्पर्धामा बागमतीकी आर्या महर्जनले स्वर्ण जितिन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *