न्यू रोड टिम (एनआरटी) सभापति कप फुटबल प्रतियोगिताको सेमिफाइनलमा प्रवेश गरेको छ ।
त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा आइतबार भएको चौथो तथा क्वाटरफाइनलमा फ्रेन्ड्स क्लबलाई ३-१ गोलले हराउँदै एनआरटी अन्तिम चारमा प्रवेश गरेको हो ।
एनआरटीको जितमा अन्जनले २ तथा रिचार्ड विल्सनले १ गोल गरे । फ्रेन्ड्सका लागि विवेक पौडेलले सान्तवना गोल फर्काए ।
पहिलो हाफमा दुई गोलको अग्रता लिएको एनआरटीले दोस्रो हाफमा एक गोल थपेको हो । खेलको २३औं मिनेटमा अन्जनको गोलमार्फत एनआरटीले सुरुवाती अग्रता लिएको थियो । त्यसको ५ मिनेटमै अन्जनले व्यक्तिगत दोस्रो गोल गरे ।
दोस्रो हाफको सुरुवातमै रिचार्डले गोल गर्दै एनआरटीलाई ३-० ले अघि बढाए । फ्रेन्ड्सका लागि ८१औं मिनेटमा विवेकले सात्वना गोल फर्काए ।
प्रतियोगिता अन्तर्गत सोमबार पहिलो सेमिफाइनलमा संकटा क्लब र मच्छिन्द्र फुटबल क्लबले साँझ ५:३० बजे खेल्नेछन् । दोस्रो सेमिफाइनल मंगलबार आयोजकको बागमती लोकतान्त्रिक र एनआरटीबिच हुनेछ । फाइनल खेल विहीबार हुनेछ ।
