अग्रता जोगाउन नसक्दा टोटनहम इङ्लिस प्रिमियर लिगमा आइतबार घरेलु मैदानमै लेस्टर सिटीसँग २-१ ले पराजित भएको छ ।
टोटनहम हट्सपर रंगशालामा लेस्टरलाई जित दिलाउन जिमी भार्डी र बिलाल एल खानौसले गोल गरे । टोटनहमका लागि रिचार्लिसनले गोल गरे ।
खेलको ३३औं मिनेटमा रिचार्लिसनको गोलबात टोटनहमले अग्रता बनाएको थियो । तर टोलीले त्यसलाई दोस्रो हाफमा जोगाउन सकेन । दोस्रो हाफमा निकै आक्रमक बनेको लेस्टरले सुरुआती पाँच मिनेट भित्रै दुई गोल गरेको थियो ।
खेलको ४६औं मिनेटमा भार्डीले लेस्टरलाई बराबरीमा ल्याए ।त्यसको ४ मिनेटपछि नै आनौसले गोल गर्दा लेस्टर २-१ ले अगाडि बढ्यो । त्यसपछि थप गोल निस्कन नसक्दा लेस्टरले स्पष्ट तीन अंक प्राप्त गर्यो ।
जितसँगै २३ खेलमा १७ अकं जोडेको लेस्टर तालिकाको १७औं स्थानमा छ । पराजित टोटनहम समान खेलबाट २४ अंकका साथ १५औं स्थानमा छ ।

आइतबार राति नै भएको अर्को खेलमा म्यान्चेस्टर युनाइटेडले फुलहममाथि १-० को रोमाञ्चक जित निकालेको छ ।
फुलहमको मैदानमा भएको खेलमा युनाइटेडलाई जित दिलाउन लिसेन्द्रो मार्टिनेजले ७८औँ मिनेटमा गरेको गोल निर्णायक बन्यो ।
जितसँगै २३ खेलबाट २९ अंक जोडेको युनाइटेड तालिकाको १२औं स्थानमा उक्लिएको छ । समान खेलबाट ३३ अंक जोडेको फुलहम १०औँ स्थानमा छ ।
प्रिमियर लिगकै अन्य खेलमा ब्रेन्टफर्डले क्रिस्टल प्यालेसलाई २-१ ले पराजित गर्दा एस्टन भिल्ला र वेस्ट ह्यामले १-१ को बराबरी खेल्दै अंंक बाँँडे ।
