एन्फा यु-१६ युथ लिग अन्तर्गत आइतबार सम्पन्न दोस्रो खेलमा संकटा क्लब र मछिन्द्र फुटबल क्लबले १-१ गोलको बराबरी खेल्दै अंक बाँडेका छन् ।
सातदोबाटोस्थित एन्फा कम्प्लेक्समा संकटाका लागि एल्सन राई र मछिन्द्रका लागि प्रज्ञान राईले गोल गरे । दुवै गोल पहिलो हाफमा भएको थियो ।
खेलको तेस्रो मिनेटमै एल्सनले गोल गर्दै संकटालाई अग्रता दिलाएका थिए । पहिलो हाफको निर्धारित समय सकिन पाँच मिनेट बाँकी रहँदा प्रज्ञानले गोल गर्दै खेललाई १–१ गोलको बराबरीमा ल्याएका थिए ।
त्यसपछि खेलमा कुनै गोल भएन र खेल १–१ गोलको बराबरीमा सकिएको हो ।
बराबरीसँगै ७ खेलबाट १२ अंक बनाएको संकटा पाँचौं स्थानमा छ । समान खेलबाट १० अंक बनाएको मछिन्द्र सातौं स्थानमा छ ।
आइतबारै भएको पहिलो खेलमा चर्च ब्वाइज युनाइटेडले विभागीय टोली नेपाल पुलिस क्लबलाई ४-१ ले पराजित गर्यो ।
प्रतियोगितामा तीन बिभागीय टोलीसहित कुल ११ टोली सहभागी छन् ।
