कोशी प्रदेशले प्रधानमन्त्री कप महिला राष्ट्रिय टि-२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेको छ ।

धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबार भएको समूह ‘बी’ को पहिलो खेलमा बागमती प्रदेशलाई १० रनले हराउँदै कोशीले बिजयी सुरुआत गरेको हो ।

कोशीले दिएको ६४ रनको लक्ष्य पछ्याएको बागमती १२.१ ओभरमा ५३ रनमा अलआउट भयो । ओपनर सबिका यादवले सर्वाधिक २० रन र विपिशा शाही १२ रनमा अविजित रहिन् । अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

कोशीका लागि कप्तान रुबिना क्षेत्री, संगिता राई र ज्योति दनुवारले समान दुई तथा निशा शाहले एक विकेट लिइन् ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको कोशीले १३ ओभरमा ७ विकेट गुमाएर ६३ रनको योगफल तयार पारेको थियो । खराब मौसमका कारण टस ढिला भएपछि खेललाई १३ ओभरमा झारिएको थियो ।

कोशीका लागि बिमला मलाहाले १९ तथा कप्तान रुबिना क्षेत्रीले १५ रन बनाउँँदा अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन् ।

बागमतीका लागि मनिषा उपाध्यायले ३ ओभरमा ७ रन मात्र दिएर चार विकेट लिइन् । पूजा साउद, विपिशा शाही र संस्कृति फुयालले समान एक विकेट हात पारे ।

जितसँगै समूह ‘बी’ मा रहेको कोशीले दुई अंक जोडेको छ । समूह ‘बी’ मा कोशी र बागमतीसँगै मधेश प्रदेश र विभागीय टोली त्रिभुवन आर्मी रहेका छन् ।

समूह ‘ए’ का खेल शनिबारनै सकियो । समूह ‘ए’ बाट शीर्ष स्थानमा रहेको नेपाल एपिएफ क्लब र दोश्रो स्थानमा रहेको सुदूरपश्चिम प्रदेश सुपर फोरमा प्रवेश गर्दा लुम्बिनी, कर्णाली र गण्डकी प्रदेश प्रतियोगिताबाट बाहिरिए ।

सुपर फोरमा एक समूहको टोलीले अर्को समूहको टोलीसँग खेल्नेछन् । सुपर फोरमा शीर्ष दुईमा रहने टोलीबिच फाइनल हुनेछ ।

प्रतियोगिताको विजेताले पाँच लाख तथा उपविजेताले तीन लाख रुपैयाँ पुरस्कार पाउनेछन् । यस्तै प्लेयर अफ द सिरिजलाई ५० हजार, वेस्ट ब्याटर र वेस्ट बलरलाई २५–२५ हजार र प्रत्येक खेलका प्लेयर अफ द म्याचलाई तीन हजार रुपैयाँ पुरस्कार प्रदान गरिनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *