नेपाली राष्ट्रिय क्रिकेट टोलीका सदस्य कुशल मल्लले अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता बुटवलबाट खेल्ने भएका छन् ।

हालै सम्पन्न नेपाल प्रिमियिर लिग (एनपिएल) मा चितवन राईनोजका मार्की खेलाडी समेत रहेका मल्लले क्रिकेटको शहर धनगढीमा माघ १९ गतेदेखि २८ गतेसम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा न्यु होराईजन बुटवलबाट प्रतियोगिता खेल्ने भएका हुन् ।

कुशल मल्लको कप्तानीमा रहेको बुटवलको टीममा दिलिप नाथ, सिद्धान्तराज लोहनी, निर्मल गुरुङ, प्रतिक श्रेष्ठ र तुलवहादुर थापा रहेका छन् । यस्तै टीममा महेश भार, विप्रसन केसी, आरिफ खान, दिपक डुम्रे, वीरवहादुर घर्ती र गोविन्द विक रहेका छन् ।

फाप्ला अन्तराष्ट्रिय क्रिकेट मैदानमा माघ २२ गते हुने खेलमा बुटवलले दशरथ चन्द एकेडेमी बैतडीसँग खेल्नेछ । यस्तै माघ २३ गते क्रिकेट एक्सीलेन्स सेन्टर काठमाण्डौंसँग खेल्नेछ भने २५ गते सिवाईसी अत्तरियासँग लिग चरणको अन्तिम खेल खेल्नेछ ।

धनगढी र सुदुरपश्चिम प्रदेशको क्रिकेटका सारथी रहेका स्वर्गीय अर्जुन खड्काप्रति समर्पित अर्जुन ट्रफीमा झण्डै २० लाख नगद पुरस्कार प्रदान गरिनेछ ।

रनिङ ट्रफीको रुपमा टी–२० फर्म्याटको प्रतियोगिताको विजेताले नगद १० लाख र उपविजेताले नगद ५ लाख सहित ट्रफी पाउनेछन् । प्रतियोगिताको सर्वोकृष्ट खेलाडीलाई नगद एक लाख प्रदान गरिनेछ । उत्कृष्ट ब्याट्सम्यान, उत्कृष्ट बलर र उदयमान खेलाडीले जनही ५०-५० हजार पाउनेछन्। प्रत्येक खेलका म्यान अफ द म्याचलाई नगद १० हजार प्रदान गरिनेछ ।

प्रतियोगितामा देशभरका ८ वटा क्लबका टीमहरुको सहभागीता रहेको छ । सबै टोलीहरुले ए क्याटोगोरीका चार जना, बी क्याटोगोरीका पाँच जना र बाँकी सी क्याटोगोरीका गरी १४ खेलाडी समावेश गर्न पाउनेछन् ।

ए क्याटोगोरीमा नेपाली राष्ट्रिय टीमका खेलाडी रहेका छन् भने बी क्याटोगोरीमा नेपाली राष्ट्रिय टीम ए, यु– १९ नेपाली राष्ट्रिय टोली र प्रदेश स्तरीय सिनियर खेलाडी रहेका छन् । सी क्याटोगोरीमा यु– १६ नेपाली राष्ट्रिय टोली, प्रदेशका यु–१९ र यु–१६ का खेलाडी र अन्य खेलाडीहरु रहेका छन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *